कांग्रेसका लागि 'फलामको चिउरा' बन्यो तालमेल, नेता–कार्यकर्ता रुष्ट - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

कांग्रेसका लागि ‘फलामको चिउरा’ बन्यो तालमेल, नेता–कार्यकर्ता रुष्ट



काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेस चुनावी तालमेलको निर्णयले मझधारको स्थितिमा पुगेको छ। चैत १५ गते केन्द्रीय समितिको बैठकबाट स्थानीय आवश्यकता अनुसार सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल गर्ने सर्वसम्मत निर्णय कांग्रेसले गरेको थियो। सोही निर्णय अनुसार सत्ता गठबन्धनमा चुनावी तालमेल गर्ने निर्णय भएको थियो र अहिले तालमेलको मोडालिटी टुंग्याउने अन्तिम कसरत भइरहेको छ।

तर, तालमेलको निर्णय कार्यान्वयन गराउन सहज भने देखिँदैन। किनकी केन्द्रको निर्णयको विरोध जिल्ला र स्थानीय तहका संरचनाले गरिरहेका छन्। खासगरी केन्द्रबाटै तालमेलका लागि भागवण्डा टुंग्याउने भनिएको महानगरको तालमेल पेचिलो बन्न पुगेको छ। कांग्रेसका जिल्ला र महानगर समितिका पछिल्ला गतिविधि हेर्ने हो भने तालमेलको निर्णय कार्यान्वयन हुनेमा आशंका उब्जिएका छन्।

देशभरका ६ वटा महानगरमध्ये तीन आफूसँग राखेर बाँकी तीन वटा गठबन्धनमा आवद्ध दलहरुलाई दिने तयारी भइरहेको छ। तर, अन्य दललाई छोड्ने सम्भावना रहेका महानगरपालिकाको नेतृत्व आफैंसँग राख्नुपर्ने मागसहित नेता–कार्यकर्ताले केन्द्रीय नेताहरुसँग भेटिरहेका छन्। खासगरी भरतपुर महागनरपालिका र पोखरा महानगरपालिका छाड्न नहुने माग सहित नेता–कार्यकर्ताले शीर्ष नेतामाथि दबाब बढाएका छन्।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर आफूसँग राखेर बाँकी तीन महानगर नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई दिने तयारी गरेको बुझिएको छ। सत्ता गठबन्धनमा पनि त्यसै अनुरुप छलफल चलिरहेको स्रोतको दाबी छ। भरतपुर महानगर माओवादी केन्द्र, वीरगन्ज महानगर जसपा र पोखरा महानगर एकीकृत समाजवादीले पाउने सम्भावना छ। तर भरतपुर र पोखरा महानगर छाड्न नहुने दबाब स्थानीय नेताहरुले शीर्ष नेताहरुलाई दिइरहेका छन्।

भरतपुर महानगरपालिका २०७४ सालमा कांग्रेसको सहयोगमा माओवादी केन्द्रले जितेको थियो। अघिल्लो पटक जितेको महानगर पुनः आफ्नै भागमा पर्नुपर्ने माओवादीको अडान छ। तर, कांग्रेसका चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला र महानगर समितिले भरतपुरको मेयर कांग्रेसले नै राख्नुपर्ने मागसहित शीर्ष नेतालाई ज्ञापनपत्र बुझाइसकेका छन्। भरतपुर माओवादीलाई छाडिए अस्वीकार गर्ने चेतावनीसहित चितवनका नेताहरुले सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. शेखर कोइराला, महामन्त्री गगन थापा लगायतका नेताहरुलाई ज्ञापनपत्र बुझाएका छन्।

तालमेलको निर्णय कार्यान्वयन गराउन सहज भने देखिँदैन। किनकी केन्द्रको निर्णयको विरोध जिल्ला र स्थानीय तहका संरचनाले गरिरहेका छन्। खासगरी केन्द्रबाटै तालमेलका लागि भागवण्डा टुंग्याउने भनिएको महानगरको तालमेल पेचिलो बन्न पुगेको छ।

चितवन जिल्ला सभापति राजेश्वर खनाल तथा केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ र दिनेश कोइराला, पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठसहितले सार्वजनिक रुपमै तालमेलका नाममा भरतपुर छोडे स्वतन्त्र उमेदवारीमार्फत भए पनि कांग्रेसकै नेता चुनावी मैदानमा उत्रने चेतावनी दिइसकेका छन्।

यस्तै पोखरा महानगरमा एकीकृत समाजवादीले दाबी गरेपछि त्यहाँका कांग्रेस नेता–कार्यकर्ता रुष्ट बनेका छन्। पोखरामा अहिले पार्टीको अवस्था सुधार भएकाले एक्लै लडे पनि जित्ने अवस्था रहेको कास्की कांग्रेसले बताउँदै आएको छ। तर, तालमेल गरे पोखरा एकीकृत समाजवादीलाई दिने निर्णय हुन सक्ने भन्दै कास्की कांग्रेसले नेतृत्वलाई दबाब दिने तयारी गरेको छ।

कास्की कांग्रेसका सभापति ईश्वरदत्त बरालसहितको टोलीले सभापति देउवासहित शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्। पार्टी नेतृत्वले स्थानीय पार्टी समितिको सुझाव नमाने त्यसले विद्रोह निम्त्याउने कास्की कांग्रेसको चेतावनी छ। वीगरगञ्ज महानगरमा पनि कांग्रेसको अवस्था सबैभन्दा बलियो भएकाले तालमेलका नाममा अर्को दललाई मेयर दिन नहुने मत बलियो बनेको छ। जिल्ला र स्थानीय तहका समितिले तालमेलका नाममा नेतृत्व छाड्न नसके र छाडेर विद्रोह गर्नेसम्मको चेतावनी दिएका कारण कांग्रेस चेपुवामा परेको छ।

चुनावी तालमेल जटिल बन्दै गएको स्विकार कांग्रेस नेताहरुले गर्न थालेका छन्। स्थानीय नेता–कार्यकर्ताको भावना विपरीत निर्णय गरेर जाँदा व्यहोर्नुपर्ने धक्काको आकलनसहित नेताहरुले तालमेल जटिल बनिरहेको बताउन थालेका छन्।

मंगलबार ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान समापनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले तालमेल जटिल बनेको स्विकार गरेका छन्। ‘तालमेलको विषय जटिल छ। तल्लो तहको निर्वाचन हुने भएकाले यसका लागि केही समय लाग्छ,’ महतले भने, ‘तालमेलको विषय पनि चाँडै जानकारी गराउनेछौँ। परिस्थिति र आवश्यकता अनुसार तालमेल गर्ने निर्णय कांग्रेसले गरिसकेको छ।’