गठबन्धनविरुद्ध चितवन कांग्रेसको बिद्रोह, सबै उम्मेदवारलाई बहिस्कार गर्ने निर्णय
चितवन — भरतपुर महानगरपालिकामा मेयर पदमा आफ्नै पार्टीको उम्मेदवार हुनु पर्ने भरतपुरका २९ वटै वडाका कांग्रेस पार्टी सभापतिहरूले माग गरेका छन् ।
कांग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा मंगलबार बसेको वडा समितिका सभापतिहरूको बैठकले निर्णय नै गरेर मेयरमा कांग्रेसकै उम्मेदवार हुनु पर्ने माग गरेको हो ।
बैठकको निर्णय वडा सभापतिहरुले केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरण गरेका छन् । निर्णय बुझ्दै जिल्ला सभापति खनालले आफ्नो चाहना पनि वडा सभापतिहरुको निर्णयसँग मेल खाने भन्दै निर्णय केन्द्रमा पठाउने प्रतिबद्धता जनाए ।
सभापतिहरुको संयुक्त निर्णयविपरीत गठबन्धन गरे भरतपुर महानगरमा मेयर, उपमेयर र सबै वडामा अध्यक्षसहितका ५ जना उम्मेदवार खडा गर्ने चेतावनी उनीहरूको छ ।
मागविपरीत तालमेल भए गठबन्धनका सबै उम्मेदवारहरुलाई बहिस्कार गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठक वडा नम्बर १९ का पार्टी सभापति आशमान तामाङको अध्यक्षतामा बसेको थियो ।