एमालेले भन्यो: अर्थमन्त्री शर्मा जेल जानुपर्छ कि देश छोड्नुपर्छ - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

एमालेले भन्यो: अर्थमन्त्री शर्मा जेल जानुपर्छ कि देश छोड्नुपर्छ



नेकपा एमालेका उपाध्यक्ष एंव पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले अहिलेका अर्थमन्त्री जनार्दन शर्मा कि जेल जानुपर्ने वा देशै छोडेर भाग्नुपर्ने स्थिति आउनसक्ने चेतावनी दिएका छन्।

अर्थतन्त्र सुधारका नीति कार्यक्रमहरुमा ध्यान दिनुको सट्टा अराजक गतिविधि बढाएको भन्दै उनले अर्थमन्त्रीले त्यो स्थितिको सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताए।

देशको अर्थतन्त्रबारेमा आफ्ना धारणाहरू सार्वजनिक गर्नका लागि नेकपा एमाले प्रचार विभागले आइतबार गरेको एउटा पत्रकार सम्मेलनमा बोल्दै पाण्डले भने- ‘श्रीलङ्कामा अर्थमन्त्रीले देशै छोडेर भाग्नुपर्नेजस्तो देखिएको छ। अब यहाँ पनि अर्थमन्त्रीलाई या जेल नै हाल्नुपर्ने हो किनकि उनले कानुनले नदिएको काम गरेका छन्। अनुसन्धान भइरहेको अवैध पैसा फुकुवा गर्नका लागि उनले पत्र लेखेका छन्।’

केही समयअघि अछामका एकजना पृथ्वीबहादुर शाहको नाममा अमेरिकाका आएको ४० करोड डलर राष्ट्र बैंकले रोकेर अनुसन्धान थालेको थियो। त्यही पैसा फुकुवा गर्नका लागि अर्थमन्त्रीले राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेको समाचारहरू सार्वजनिक भएका थिए।

तर अर्थमन्त्री शर्माले भने त्यसबारेमा बुझ्नका लागि राष्ट्र बैंकसँग सोधेको र राष्ट्र बैंकका अधिकारीहरूले नै त्यसलाई मिडियामा अनर्गल प्रचार गरेको आरोप लगाएका थिए। यही प्रकरणका बीच सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न एउटा टोली बनाएको छ र उनी निलम्बनमा परेका छन्।

पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष पाण्डले एउटा स्वायत्त संस्थाले अनुसन्धान गरिरहेको विषयमा अर्थमन्त्रीले त्यसरी पत्र लेख्नु गैरकानुनी भएको बताए।

‘अर्थमन्त्रीले यो पैसा दे वा त्यो फुकुवा गर् प्रतिवन्ध गर् भनेर भन्न मिल्दैन। त्यसरी पत्र लेख्न मिल्दैन’ उनले भने ‘त्यो कानुन विपरीत छ र एउटा स्वायत्त निकायमाथिको त्यो नाङ्गो हस्तक्षेप हो।’

उनले देशको अर्थतन्त्र निकै जोखिमपूर्ण अवस्थामा रहेको भन्दै अब राजनीतिभन्दा माथि उठेर सरकार आग्रह पूर्वाग्रहबिना संकट समाधानतिर अघि बढ्नुपर्ने बताए।

‘संकट निकै गहिरो भइरहेको छ। यस्तो अवस्थामा संकट समाधानतिर लाग्न छोडेर गभर्नरलाई हटाइएको छ। यो निकै आपत्तिजनक र निन्दनीय काम हो’ उनले भने ‘एकातिर देशमा पैसा छैन। अर्कोतिर गभर्नर हटाइएको छ। यस्तो बेलामा नोट पनि छाप्न मिल्दैन। अब देशको आर्थिक स्थिति निकै संकटपूर्ण अवस्थामा पुगेको छ।’