बागलुङ पुगेर ओलीले बताए आफ्नो किर्तिमान
गलकोट । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा झोलुंगे पुल, बाटोघाटो र तुइन हटाउने काममा कीर्तिमान कायम गरेको दाबी गरेका छन् ।
एमाले बागलुङको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले बजेट नभएको भन्दै योजना कटौती गर्नबाहेक अरू केही गर्न नसकेको आरोप लगाए ।
यसैबीच, अध्यक्ष ओलीले एमाले पर्वतले कुश्माबजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गरेका छन् । उनले हरेक जिल्ला र बस्तीमा एमालेको पक्षमा माहोल बढेको दाबी गरे ।
अध्यक्ष ओलीले कुश्मामा रेलको स्टेसन बन्न सक्ने तर्क गर्दै भने, “यहाँ रेलमार्ग, सुरुङमार्ग पनि क्रमशः बन्दै जान्छन् ।”
सो अवसरमा उनले रक्सोल–काठमाडौं रेलमार्ग र केरुङ–काठमाडौं रेलमार्ग निर्माण प्रक्रिया सुरु भइसकेको बताए ।
आफ्नो कार्यकालमा तुइन विस्थापन, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गलगायत अनेक स्वरोजगार र कृषिको आधुनिकीकरण, सघन सहरी विकास, डिजिटल नेपाललगायत कार्यक्रम सञ्चालन गरेको अध्यक्ष ओलीको दाबी थियो ।
उनले नेपाल विकासको मार्गमा अत्यन्तै तीव्रताका साथ अघि बढेको बताउँदै धरहरा, रानीपोखरी, अस्पताल, स्वास्थ्यचौकी, विद्यालय, सिँचाइ, घरघरमा धारा बनिरहेको उल्लेख गरे । रासस