ऋषि धमलाले मागे माफी, गरे आत्मालोचना
काठमाडौं । पत्रकार ऋषि धमलाले प्रेस काउन्सिलमा आत्मालोचना गर्दै स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री चढेको जहाजभित्रबाट प्रत्यक्ष प्रशारण गर्ने नाममा हुल हुज्जत गरेकोबारे उनले आत्मालोचना गरेका हुन्
काउन्सिलले २४ घण्टाको म्याद दिएर सोधेको स्पष्टीकरणको जवाफ धमलाले आज प्रतिनिधिमार्फत समयमै पठाएका हुन् । स्रोतका अनुसार धमलाले घटनाप्रति आत्मालोचना गरेका छन् । आइन्दा यस्तो गतिविधि नगर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
स्पष्टीकरणमा धमलाले ‘जनतालाई सुसूचित गर्न छिटो समाचार दिने क्रममा हतार गर्दा गल्ती हुन गएको’ बताएका छन् । स्पष्टीकरण पत्रमा धमलाले आफू पत्रकार आचार संहितालाई लिएर प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।
धमलाले सुरुमा प्राइम टिभीको लेटर हेडमा हस्ताक्षर बिनाको स्पष्टीकरण प्रतिनिधिमार्फत पठाएका थिए । तर, काउन्सिले हस्ताक्षर चाहिने बताएर फिर्ता गरिदिएको थियो । त्यसपछि फेरि हस्ताक्षरसहितको पत्र बुझाइएको छ ।
काउन्सिलले धमलासहित प्राइम टेलिभिजनका समाचार प्रमुखलाई पनि स्पष्टीकरण सोधेको थियो । उक्त टिभीबाट बारम्बार आचारसंहिता विपरीतका कार्यहरू भइरहेको प्रति ध्यानाकर्षण गराइएको थियो । समाचार प्रमुखले पनि जवाफ पठाएका छन् ।