बार एसोसिएसनमा पनि सत्ता गठबन्धनकै जित, यस्तो छ मत परिणाम
नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरू जितको नजिक पुगेका छन् ।
बिहीबार साँझ ९ बजेसम्मको मतगणना अनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरेले ३ हजार ७२८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले १ हजार ९७७ मत प्राप्त गरेका छन् ।
कुल ७ हजार ५ सयको हाराहारीमा मत खसेकामा ६ हजार १ सयभन्दा बढी मत गणना भइसकेको छ । नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलका अनुसार अब काठमाडौं जिल्ला अदालत बारको ६५० र उच्च अदालत पाटन बारको ७३७ गरी कुल १ हजार ३८७ मत मात्रै गन्न बाँकी छ । यससँगै घिमिरेको जित निश्चित भएको हो ।
बिहीबार साँझ ९ बजेसम्मको मतगणना अनुसार सत्ता गठबन्धन समूहबाटै महासचिवको उम्मेदवार बनेकी अन्जिता खनालले प्रगतिशील समूहका केदार कोइरालालाई ८ सय ३० मतले पछि पारेकी छिन् । बृहत लोकतान्त्रिक, प्रगतिशील समूहकी उम्मेदवार खनालले ३ हजार १७५ मत प्राप्त गर्दा प्रगतिशील समूहका केदारप्रसाद कोइरालाले २ हजार ३४५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्ष पदका प्रत्यासीमध्ये प्रदेश १ बाट सुरज खत्रीले ३७२३, मधेश प्रदेशबाट सुधीरकुमार कर्ण ३७४६, बागमतीबाट हर्कबहादुर रावल ३६४६, गण्डकीबाट वीरेन्द्र केसी ३५७९, लुम्बिनीबाट पशुपति भण्डारी ३४६४, कर्णालीबाट उत्तम प्रसाद आचार्य ३६४६ र सुदूरपश्चिमबाट तुलाराम गिरीले ३६५१ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा आशा राईले ३४११ मत प्राप्त गरेकी छिन् । उनीहरु सबै सत्ता गठबन्धनका तर्फबाट बृहत लोकतान्त्रिक, प्रगतिशील प्यानलमा उम्मेदवार हुन् ।