गठबन्धनलाई पेल्दै निर्वाचन आयोग, के छ विज्ञप्तिमा ?
काठमाडौं। स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर दलहरू निर्वाचनमा जाँदा महिलाका लागि छुट्टाइएको पद सङ्ख्या नै पुरुषको भागमा जाने देखिएपछि निर्वाचन आयोगले महिलामैत्री निर्देशन दिएको छ।
प्रमुख वा उपप्रमुखमध्ये एक पदमा मात्र उम्मेदवार बनाउने दलले महिला उठाउनुपर्ने आयोगले दलहरूलाई निर्देशन दिएको हो।
आयोगले केही दिनअघि दलहरूलाई निर्देशन दिँदै निकालेको विज्ञप्तिमा यस्तो उल्लेख छ। १६ चैतमा निकालिएको विज्ञप्तिको निर्देशनको ६ नम्बर बुँदामा भनिएको छ, ‘‘स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने।’’
गठबन्धनले संयन्त्र बनाइएर उम्मेदवारी छनोट, दलगत भागबन्डालगायतको काम गरिरहँदा आयोगको यस्तो निर्देशन आएको हो। यसअघिको स्थानीय तहमा भएको दुई दलीय गठबन्धनमा धेरै महिला उम्मेदवार हुनबाट वञ्चित भएका थिए।
स्थानीय तह निर्वाचन ऐनको दफा १७ को उपदफा ४ मा दलहरूले उम्मेदवारी दिँदा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था छ। तर, दलहरूले गठबन्धन गर्दा एक पदमा मात्र उम्मेदवारी दिने र अर्को पद अर्को दललाई दिँदा पुरुषकै भागमा पर्ने सम्भावना हुन्छ।
अहिले धेरै दलबीचमा गठबन्धनको तयारी भएकाले महिला उम्मेदवार अझ धेरै ठाउँमा वञ्चित हुनुपर्ने अधिकारकर्मीको चिन्ता भइरहँदा आयोगको यस्तो निर्णय आएको हो। जसले गठबन्धनलाई अप्ठ्यारो पार्ने देखिन्छ।