प्रचण्डलाई शेखरको प्रश्न: लिन जस्तो दिन हिम्मत छ ? - Himal Post Himal Post
  • १० पुष २०८२, बिहीबार
  •      Thu Dec 25 2025
Logo

प्रचण्डलाई शेखरको प्रश्न: लिन जस्तो दिन हिम्मत छ ?



नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लिन हतार गरे जसरी नै छोड्न पनि तयार भए मात्र तालमेलका कुरा गर्न चुनौती दिएका छन् ।

शनिबार पोखरामा प्रजातान्त्रिक विचार समाज कास्कीको नवौं अधिवेशनलाई सम्बोधन गर्दै नेता कोईरालाले दाहाल खाली भरतपुरलाई केन्द्रमा राखेर तालमेल गरिरहेको आरोप लगाए। ‘मैले सुनेको, प्रचण्डजीले शेरबहादुर देउवाजीलाई भेट्दा एउटा प्रस्ताव ल्याउनुभयो रे! जुनजुन पार्टीले जितेको छ, त्यो ठाउँमा त्यही पार्टीको नेतृत्व हुने भनेर’ कोईरालाले भने, ‘दोस्रो र पहिलो भएको पालिका जोड्यो भने ७५३ मा ५८५ वटा पालिकामा कांग्रेसको नेतृत्व हुन्छ। त्यति दिन उहाँ तयार हुनुहुन्छ? त्यो गर्न सक्नुहुन्छ, हिम्मत छ उहाँको?’

स्थानीय तह निर्वाचनमा कांग्रेसलाई ५८५ पालिका दिन तयार हुनुहुन्छ भने मात्रै दाहालले त्यस्तो प्रस्ताव गर्नुपर्ने उनको भनाई छ। ‘५८५ वटा हामीलाई दिँदा उहाँलाई कति पर्छ? मलाई लाग्छ, उहाँ तयार हुनुहुन्न’ उनले भने–‘खालि भरतपुरलाई दिमागमा राखेर मात्रै त्यसो भन्नुभएको हो।’

दाहालले अहिले जुनजुन पार्टीले पालिका प्रमुख जितेका छन्, त्यसैलाई निरन्तरता दिने र एमालेसहित विपक्षी दलले जितेका पालिकामा ०७४ को चुनावमा दोस्रो भएको वा उम्मेदवार राम्रो भएको दललाई प्राथमिकतामा राखेर गठबन्धन गर्ने प्रश्ताव अगाडि सारेका छन् ।

उनको यो मोडालिटीमा नयाँ बनेको दल एकीकृत समाजवादीलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ, उनले यो विषयमा खासै बोलेका छैनन्। स्थानीय जनप्रतिनिधिको ठूलो संख्या एमालेबाट विभाजित एकीकृत समाजवादीमा समाहित भएका छैनन् । गत निर्वाचनमा एमाले ७५३ मध्ये २९४ वटा पालिकाको प्रमुख जितेको भने कांग्रेसले २६६ पालिका र माओवादीले १०६ वटा पालिका प्रमुख जितेको थियो ।