पार्टीभित्रै घेराबन्दी हुने देखेपछि ओलीले गरे राप्रपासँग गठबन्धनको प्रस्ताव
काठमाडौं- पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने र एमालेले जितेका स्थानमा ‘क्लीन स्वीप’ गर्ने तयारी गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तनाव र दवावमा देखिएका छन् । चुनावी अभियानमा देश दौडाहा गरिरहेका ओलीले विभिन्न विकल्पमा अगाडी बढ्ने रणनीति बनाएका छन् ।
पार्टीले चुनाव हारेको खण्डमा आलोचित हुनुपर्ने र नेतृत्व पार्टीमा आफूमाथि घेराबन्दी हुने देखेपछि उनी नयाँ रणनीतिमा लागेका हुन् । पाँचदलीय गठबन्धनले तालमेल गरेर जाने निर्णय लिएकै दिन प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले राप्रपासँग तालमेलका लागि औपचारिक प्रस्ताव गरेका छन्।
पार्टीको केन्द्रीय कमिटीदेखि चुनावी सभाहरूमा एमाले एक्लै लड्ने घोषणा गरिसकेका ओलीले अहिले भने राप्रपाको टेको मागेका छन् । त्यो पनि पाँचदलले मिलेर चुनाव लड्ने सहमति गरेलगत्तै ओलीले हतार-हतार राप्रपाका महामन्त्रीलाई आफै बोलाएर प्रस्ताव गर्नुलाई ओली चर्को दवावमा रहेको मान्न सकिन्छ ।
बिहीबार नेपालगन्ज पुगेका ओलीले राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई होटेल सोल्टीमा आफै बोलाएर तिनै तहको निर्वाचनमा गठबन्धन गरेर जाने प्रस्ताव गरेका थिए । ओली कर्णालीका विभिन्न जिल्लामा चुनावी कार्यक्रममा सहभागी भएर योजनावद्ध रूपमा महामन्त्री राणासँग छलफलमा बसेका थिए ।
कर्णालीका कार्यक्रमहरू सकेर काठमाडौं फर्कने क्रममा नेपालगन्जमाको सोल्टी होटलमा राणालाई बोलाएरडेढ घन्टा छलफल गरेका थिए । छलफलमा अध्यक्ष ओलीले दुई पार्टीबीच तीनै तहको चुनावमा सहकार्य गरेर जान प्रस्ताव गरेको राणाले बताएका छन् ।
एमाले बाँकेका नेताहरूमार्फत अध्यक्ष ओलीले राणालाई भेट्न बोलाएको खुलेको छ । राणाका अनुसार गठबन्धन गरौँ भन्दै ओली आफैले प्रस्ताव ल्याएका थिए । सत्तासाझेदार दलले चुनावी तालमेलको तयारी गरेकाले विपक्षी दलहरूले पनि गठबन्धन बनाउनुपर्छ भन्नेमा समझदारी बनेको उनको भनाइ छ ।
ओलीसँगको छलफलपछि राप्रपाले पार्टीमा छलफल गरेर आधिकारिक निर्णय सार्वजनिक गर्ने बताइएको छ। त्यसपछि तालमेल कसरी गर्ने भन्नेबारे दुई पार्टीबीच छलफल हुनेछ ।
तर एमालेका कतिपय नेताहरूले भने विचारनै नमिल्ने राप्रपासँग गठबन्धन गर्न नसकिने भन्दै विरोध गरेका छन् ।