विवादपछि बोले केजरीवाल: म देशका लागि मेरो ज्यान दिन सक्छु - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

विवादपछि बोले केजरीवाल: म देशका लागि मेरो ज्यान दिन सक्छु



नयाँदिल्ली- दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले आफ्नो ज्यानभन्दा देश महत्त्वपूर्ण भएको बताएका छन् ।

सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थकहरूले आफ्नो घर तोडफोड गरी ज्यान मार्ने धम्की दिएपछि पहिलोपटक प्रतिक्रिया दिँदै केजरीवालले देशका लागि ज्यान दिन सक्ने बताएका हुन् ।

‘अरबिन्द केजरीवाल त्यति महत्त्वपूर्ण होइन तर देश हो । म देशका लागि मेरो ज्यान दिन सक्छु,’ उनले भने । भारतीय चलचित्र ‘द कश्मीर फाइल्स’ माथि दिएको प्रतिक्रियाको विरोधमा बुधबार केजरीवालको दिल्लीस्थित घरमा तोडफोड गरिएको हो । देशको केन्द्रीय सरकार सञ्चालन गर्ने दलका कार्यकर्ताले राजधानीमै गुन्डागर्दी गर्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ ।

द कश्मीर फाइल्सलाई कर छुट दिनुपर्ने भाजपाको मागबारे प्रतिक्रिया जनाउँदै केजरीवालले ‘चलचित्रलाई युट्युबमा राखे सबैले निःशुल्क हेर्न पाउने’ बताएका थिए । ‘कश्मीरी पण्डितको नाममा कतिपय मानिसले करोडौं कमाइरहेका छन् र भाजपाले उक्त फिल्मको पोस्टर टाँसिरहेको छ,’ केजरीवालले भनेका थिए ।

‘केन्द्रीय सत्तामा रहेको देशको सबैभन्दा ठूलो दलले यस्तो गुन्डागर्दी गर्छ भने यसले जनतामा निकै खराब सन्देश जान्छ,’ उनले भने, ‘उनीहरूले यो नै ठीक शैली हो भन्ने ठान्छन् । यसरी देशको प्रगति हुन सक्दैन ।’