रवीन्द्र मिश्रलाई कारबाही गर्न ६० प्रतिशत केन्द्रीय सदस्य निर्वाचन आयोग जाँदै - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

रवीन्द्र मिश्रलाई कारबाही गर्न ६० प्रतिशत केन्द्रीय सदस्य निर्वाचन आयोग जाँदै



काठमाडौं- पछिल्लो समय राजतन्त्रसँग नजिकिनुका साथै राजावादी पार्टी राप्रपासँग एकताको पहल थालेका रवीन्द्र मिश्र आफ्नै पार्टीमा अल्पमतमा परेका छन् । पछिल्लो समय पार्टीमा आलोचित बनेका मिश्रविरुद्धमा बहुमत जुटेको छ ।

पार्टीका असन्तुष्ट नेताहरुले मिश्रको पार्टी सञ्चालनको तौरतरिकाबारे गम्भीर असहमति राख्दै उनीविरुद्ध मोर्चाबन्दी सुरु गरेका थिए । अलिले करिब ६० प्रतिशत केन्द्रीय सदस्यहरूले उनलाई कारबाही गर्ने तयारी गरेको बताइएको छ । मिश्रलाई कारबाही गर्नका लागि ६० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य निर्वाचन आयोगमा जाने तयारी गरेको सुवास पौडेलले बताए ।

मिश्रले यसअघि नै कारबाही घोषणा गरेका मिलन पाण्डे समूह र मिश्रकै समूहका भनेर चिनिएका केही नेतासमेत मिश्रविरुद्ध असन्तुष्ट बन्दै उनलाई कारबाहीको तयारी गरेका हुन् ।

मिलन पाण्डे निकट प्रवक्ता हरिश भट्टले पार्टी लोकतान्त्रिक पद्धति अनुरुप सञ्चालन नभएको बताउँदै आफूहरु विधि र थिति बसाल्न लागिपरेको बताए । अर्का एक नेताका अनुसार मिश्रको क्रियाकलापले पार्टीलाई गम्भीर क्षति पुग्ने देखिएको भन्दै उनलाई कारबाहीको तयारी गरिएको बताएका छन् ।

त्यसका लागि असन्तुष्टहरुले ६० प्रतिशत पुर्‍याएका छन् । बहुमत जुटाएर प्रक्रियासम्मत ढंगले हटाउने पहल भइरहेको छ।

विशेषगरी मिश्रले एकलौटी रुपमा २६ जना केन्द्रीय सदस्यलाई हटाउनुका साथै राप्रपासँग एकता गर्न लागेको लागेपछि विवाद चर्किएको नेताहरुको भनाइ छ ।

नेता निर्देश सिलवाल, रमेश पौडेल, केशव दहाल लगायतका नेताहरु राप्रपासँग एकता हुन नसक्ने निष्कर्षमा छन् । पार्टीलाई राजावादीको कित्तामा मिश्रले जबरजस्ती उभ्याएको भन्दै यसअघिदेखि नै मिलन पाण्डेले आलोचना गर्दै आएका थिए ।