कांग्रेसले माग्यो अर्थमन्त्री शर्माको राजीनामा - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

कांग्रेसले माग्यो अर्थमन्त्री शर्माको राजीनामा



काठमाडौँ — प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग उठेको छ । व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग केन्द्रीय सदस्य प्रकाश स्नेहीले माग गरेका हुन् ।

बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका स्नेहीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि माग गरेको बजेट विनियोजनमा ढिलाई, अर्थतन्त्रको सूचकलगायतका कारण अर्थमन्त्री शर्मा असक्षम भइसकेकोले सत्ता गठबन्धनभित्र छलफल गरेर बर्खास्त गर्नुपर्ने माग गरिएको बताए । उनले यसबारे प्रधानमन्त्री देउवाको जवाफ आइनसकेको र गम्भीर भएर सुनेको जानकारी गराए ।

शनिबार शेखर कोइरालाले पनि सार्वजनिक कार्यक्रममा अर्थतन्त्र सुधार गर्न नसक्ने अर्थमन्त्रीबारे प्रधानमन्त्रीले बेलैमा सोच्नुपर्ने बताएका थिए ।

कांग्रेस बैठक सानेपामा जारी छ । अपराह्नसम्म ४७ जनाले धारणा राखिसकेका प्रवक्ता प्रकाशरण महतले जानकारी दिए । उनले बोल्नेक्रम जारी रहेको बताए । कांग्रेस बैठक भोलि सकिने प्रवक्ता महतको भनाइ छ ।