झलनाथ भन्छन्: अब एमालेले दुई तिहाइ हैन, दुई–तीन सिट चाहिँ पक्का जित्छ
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले दुई/तीन सिट जित्ने दाबी गरेका छन् । दुई तिहाइ सिट नजित्ने उनले ठोकुवा गरे ।
काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा जारी समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा खनालले भने, ‘एमालेले अब दुई तिहाइको ठीक उल्टो दुई/तीन सिट जित्न सक्छ ।’
उनले एमालेले गर्न सक्ने सम्भावित गठबन्धनबारे पनि आलोचना गरे । एमालेले आवश्यकताअनुसार लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतसँग गठबन्धन गर्ने चर्चा चलिरहेको छ । यी दलहरूसँग एमालेको गठबन्धन बने दक्षिणपन्थी मोर्चा भन्न सकिने उनको भनाइ छ ।
नेता खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद अमेरिकी सहयोग परियोजना एमसीसीसँग उदाङ्गिएको पनि बताए ।