मधेशमा म्यादी प्रहरीका लागि ६८ हजारभन्दा बढीकाे आवेदन
जनकपुरधाम – आगामी वैशाख ३० गते हुने भनिएकाे स्थानीय तह निर्वाचनका लागि मधेस प्रदेशमा ६८ भन्दा बढीले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । मधेस प्रदेशमा २१ हजार ६९८ जनाको माग गरिएकाे म्यादी प्रहरीका लागि ६ दिनमा ६८ हजार १९ आवेदन परेकाे प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
सबैभन्दा बढी बारामा आवेदन परेको छ । बारामा ११ हजार २ सय ६७ जनाले आवेदन दिएका छन् । बारामा २ हजार ५२८ जना म्यादी प्रहरी माग गरिएको थियो । त्यस्तै बारापछि सर्लाहीमा सबैभन्दा बढी आवेदन परेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । सर्लाहीमा ३ हजार ८८ जना म्यादी प्रहरी माग गरिएकोमा १० हजार ८ सय ५१ जना आवेदन भरेका हुन् ।
सप्तरीमा ३ हजार १३९ जनाको माग गरिएकोमा ९ हजार ४३४ जनाले दरखास्त भरेका छन् । धनुषामा ३ हजार ४८६ म्यादी प्रहरी माग गरिएकोमा ९ हजार २१, महोत्तरीमा २ हजार ७३६ माग गरिएकोमा ८ हजार ५४, रौतहटमा २ हजार माग गरिएकोमा ६ हजार ६८४, सिरहामा २ हजार ३३१ माग गरिएकोमा ६ हजार ५०७ र पर्सामा १ हजार ८०१ जना म्यादी प्रहरीको माग गरिएकोमा ६ हजार २०१ जनाले दरखास्त भरेका हुन् ।
प्रहरी प्रधान कार्यालयले देशभर १ लाख म्यादी प्रहरी माग गरेकोमा तर माग भन्दा तीन गुणा बढी आवेदन परेको हो । म्यादी प्रहरीको भर्नाका लागि आइतबारदेखि शुक्रबारसम्मको समय निर्धारण गरिएको थियो ।