घनश्याम भुसालले गरे एमालेकै कारण संविधान भत्किने र एमाले सकिने दाबी
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसला गलत हो भनेर एमाले चुनावमा जाने हो भने संविधान भत्किने र एमाले सकिने दाबी गरेका छन् ।
मंगलबार पत्रकारहरूसँग वाम एकताको औचित्यबारे छलफल गर्दै भुसालले संसद विघटन र पुन:स्थापना इतिहासको घटना भइसकेको भन्दै अब एमालेले राजनीतिक मुद्दाको संवैधानिक टुंगो लागिसकेकाले त्यहिँ छाड्नुपर्ने बताए ।
भुसालले भने, ‘नेकपा विभाजनको सैद्धान्तिक राजनीतिक कारण थिएन, एउटा राजनीतिक कारण थियो संसद विघटन । त्यसमा हामी अहिले पनि विभाजित छौं । त्यसलाई अदालतले निर्णय गरिसकेको छ ।
यो संविधान रहेसम्म संसद विघटन हुँदैन भनिसकेपछि अब एमालेले सर्वोच्चको त्यो निर्णय गलत भनेर जाने हो भने संविधान भत्किन सक्छ र सोझै अस्थिरताको पक्षमा हिँड्नुपर्ने हुन्छ ।’
एमालेले संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसला गलत रहेको र पछिल्लो परमादेश सेटिङबाट आएको बताउँदै आएको छ ।