सुर्यमा ग्रहण लागिसक्यो, ओलीसँग गालीमात्रै बाँकी छ: माधव नेपाल - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

सुर्यमा ग्रहण लागिसक्यो, ओलीसँग गालीमात्रै बाँकी छ: माधव नेपाल



नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) कमजोर भइसकेको र एकीकृत समाजवादी मूलधारको पार्टी बनेको जिकिर गरेका छन्।

शनिबार गोरखामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीका कारण नेकपा (एमाले) बाट विद्रोह गर्नु परेको जनाउँदै अब पहिलेको एमाले नरहेको दाबी गरे। “एमालेले जबजको मर्मलाई आत्मसाथ गरेको छैन। मानसम्मान गर्ने, सुसंस्कार र सुसंस्कृति हो, जबज,” ओलीका कारण त्यो सकिएको जिकिर गर्दै नेपालले भने, “ओलीमा गाली मात्रै छ। खिसिट्युरी बाहेक केही छैन।”

अघिल्लो निर्वाचनमा पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर मात्रै ठूलो पार्टी भएको उनको भनाइ थियो। “प्रचण्डको काँधमा चढेर ओलीले आफूलाई अग्लो देखाउन खोजे,” नेपालले भने।

एमाले अध्यक्ष ओलीले आज काठमाडौं आयोजित कार्यक्रममा नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी बन्न नसकेको र नबन्ने दाबी गरेका थिए। त्यसको जवाफमा नेपालले एकीकृत समाजवादी मूलधारको पार्टी बनेको जिकिर गर्दै भने, “नेकपा (एमाले) अब एमाले रहेन। ‘बी’माले, ‘सी’माले भन्नुस्। सूर्यमा ग्रहण लागिसकेको छ।”

एमाले छोडेर थुप्रै नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा आएको उनको भनाइ थियो। “हाम्रो पार्टी सुदूरपश्चिम र मधेश प्रदेशमा सबैभन्दा ठूलो दल हो,” अध्यक्ष नेपालले थपे, “प्रदेश १ र बागमती प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ।”

आगामी स्थानीय तहको निर्वाचनमा जनताको घरदैलोमा पुग्न र एकीकृत समाजवादीले बोकेको विचारधारका विषयमा जनतालाई जानकारी गराउन उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए।