गठबन्धनमा खटपट: देउवासँग प्रचण्ड र नेपाल असन्तुष्ट - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

गठबन्धनमा खटपट: देउवासँग प्रचण्ड र नेपाल असन्तुष्ट



काठमाडौं- आउँदो वैशाख ३० गते तय स्थानीय तह निर्वाचनलाई लिएर सत्ता गठबन्धनभित्र ‘अविश्वास’ सुरु भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइलाबीच मत बाँझिदा त्यसको असर गठबन्धनमा पर्न थालेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि पोखेका छन्।

बिहीबार बिहान प्रधानमन्त्री देउवाका साथै कांग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटमा प्रचण्ड र नेपालले गठबन्धन गरेर जाने विषयमा कांग्रेसको ‘एकस्वर’ अपेक्षा गरेका हुन्। तालमेलका विषयमा कांग्रेस नेताहरुबाट अनेकथरि धारणा बाहिर आएको भन्दै प्रधानमन्त्री देउवालाई प्रचण्ड र नेपालले कांग्रेस नेता पौडेलसमेत रहेको भेटवार्तामा क्लिएर गर्न भनेका हुन्।

स्थानीय निर्वाचनमा तालमेल गर्ने विषयमा अनेक कुरा आइरहेका छन्। तालमेल गर्ने सवालमा के-के गर्न सकिन्छ? भन्ने विषयमा प्रचण्ड कमरेडले प्रधानमन्त्रीज्यूसँग आफ्नो कुरा राख्नु भएछ’, प्रचण्डनिकट एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूले जवाफ दिँदै चुनाव हुने/नहुने कुरा र तालमेल गर्ने वा नगर्ने कुरा चुनावकै दिनसम्म पनि आइरहन्छन्। त्यसमा धेरै चिन्ता लिन हुन्न भन्नुभएछ।’ देउवाले आफू तालमेल गरेरै जाने विषयमा प्रतिवद्ध भएको प्रष्ट पारेका थिए।

देउवाले चुनावी तालमेलको विषयलाई पन्छाउन खोजेको आभास भएपछि प्रचण्डले चित्त दुखाएको माओवादी केन्द्रका ती नेता बताउँछन्। पाँच दलीय चुनावी तालमेल गर्ने विषयमा कांग्रेस अनुदार भए विकल्प सोच्न सकिने संकेत समेत प्रचण्डले गरेको माओवादीका ती नेता बताउँछन्।

बिहीबार बिहान प्रधानमन्त्री देउवासँग भएको छलफलको प्रचण्डले आफूनिकट अन्य नेतासँग ब्रिफिङ गर्दै सबै विकल्पका लागि तयार रहन भनेका छन्। प्रचण्डनिकट ती नेताको भनाइ छ, ‘उहाँले जिल्लामा अरु शक्ति (एमाले) गठबन्धनका लागि तयार रहे\नरहेको विषयमा समेत सोध्नुभएको छ। हामीले एमालेका स्थानीय तहका नेता तयार नै रहेको उहाँलाई बताएका छौं। केन्द्रको निर्देशन मात्रै कुरिरहेको उहाँलाई अवगत गराएका छौं।’

प्रचण्डले देउवा पक्ष तालमेलका लागि लचिलो रहेपनि शेखर पक्ष कमजोर बनाउने गरी लागिरहेको समेत आफूनिकट नेतालाई बताएका छन्। यदि पार्टीभित्र देउवा नै अल्पमतमा परेर तालमेलका पक्षमा सहमति नजुट्दा माओवादी केन्द्रले विकल्प खोज्नुपर्ने हुन सक्ने उनले संकेत गरेका छन्।

‘स्थानीय चुनावमा तालमेल गर्ने विषयमा प्रधानमन्त्री प्रतिवद्ध हुनुहुन्छ। कांग्रेसभित्रको शेखर कोइरालापक्ष तालमेल नै गर्न हुँदैन भन्ने पक्षमा छन्,’ प्रचण्डको भनाई उदृत गर्दै ती नेताले भने, ‘यदि प्रधानमन्त्री पार्टीमा अल्पमतमा पर्दै जानुभयो भने तालमेल पनि नहुन सक्छ। त्यस्तो अवस्थामा अन्य शक्तिसँग तालमेल गर्नुपर्ने अवस्था आउन सक्छ।’

त्यसको संकेत उनले बुटवलमा भएको एक कार्यक्रममा पनि गरेका छन्। उनले कांग्रेसले लखेट्न नै थाल्यो भने चाहिँ एमालेसँग गठबन्धन गर्न सकिने बताएका हुन्। बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनको विषय कांग्रेसको व्यवहारमा भर पर्ने बताए।

उनले भने, ‘गठबन्धन नेपाली कांग्रेसको व्यवहारमा भर पर्छ। राजनीतिमा असम्भव भन्ने केही हुँदैन। धेरैलाई प्रधानमन्त्री बनाउने भूमिका मेरो हो। राजनीतिमा असम्भव भन्ने हुँदैन। यो सम्भावनाको खेल पनि हो।’

कांग्रेस नेता पौडेलले भने छलफल सत्ता गठबन्धन बलियो बनाउने विषयमै केन्द्रित भएको बताए।