लकडाउनका कारण चीनको जनजिवन अस्तव्यस्त - Himal Post Himal Post
  • ९ मंसिर २०८१, आईतवार
  •      Sun Nov 24 2024
Logo

लकडाउनका कारण चीनको जनजिवन अस्तव्यस्त



काठमाडौं । कोभिड–१९ महामारी सुरु भएदेखिकै उच्च संक्रमण वृद्धिपछि चीनले अझ धेरै क्षेत्रमा लकडाउन जारी गरेको छ । यसमा पूरै जिलिन प्रान्त र प्राविधिक हब पनि भनिने सबैभन्दा व्यस्त सहर सेन्जेनका एक करोड बढी मानिस लकडाउनमा बस्नुपर्ने भएको छ ।

सोही कारण थुप्रै अन्तर्राष्ट्रिय कम्पनीहरूको सञ्चालन पनि यति बेला अवरुद्ध भएको छ । टोयोटा, भोक्सवागन, एप्पलको आपूर्तिकर्ता फक्सकर्नलगायत व्यवसाय यसबाट प्रभावित हुँदा विश्वव्यापी आपूर्तिमा असर पुर्‍याउनेबारे चिन्ता व्यक्त गरिएको छ ।

मंगलबार चीनको जिलिनमा मात्र पाँच हजारभन्दा बढी नयाँ संक्रमित फेलापरेका थिए ।

यसअघि, सेन्जेनका एक करोड २५ लाख नागरिकलाई पनि पाँच दिनका लागि पूर्ण लकडाउनमा राखिएको थियो । जहाँ बस, रेललगायत सम्पूर्ण सार्वजानिक यातायातको सञ्चालनमा समेत रोक लगाइएको छ ।

मंगलबार राजधानी बेइजिङसँग सिमाना पर्ने लाङफाङ सहरसहित दोगुआनमा पनि आपत्कालीन लकडाउन जारी गरिएको छ । यसले धेरै व्यवसायहरू प्रभावित भएका छन् । त्यहाँका कर्मचारीहरूलाई या त घरबाट काम गर्न या कार्यालय नै बन्द गर्न भनिएको छ ।

एप्पल कम्पनीका लागि आइफोन निर्माण गर्ने फक्सकनले पनि सोमबारदेखि उत्पादनको काम बन्द गराएको छ र स्थानीय सरकारको सुझावमा मात्र पुनः सञ्चालन हुने जनाएको छ ।

शून्य कोभिड नीतिअन्र्तगत चीनमा संक्रमण संख्या एकदम कम रहँदै आएको थियो । सरकारले ठूलो स्तरमा परीक्षण, यात्रा प्रतिबन्ध, लकडाउनजस्ता कडा उपाय अपनाएर स्थानीय फैलावट नियन्त्रण गर्दै आएको थियो ।

तर, ओमिक्रोनको नयाँ अधिक संक्रामक सब भेरियेन्टलाई नियन्त्रण गर्न चीनलाई चुनौतीपूर्ण साबित भइरहेको छ । यसअघि, संक्रमक रोग विशेषज्ञ जाङ वेनहोङले हालको संक्रमण अवस्था पछिल्लो दुई वर्षकै सबैभन्दा कठिन समय भएको उल्लेख गरेका थिए । बीबीसीबाट ।