घनश्याम भुसालमाथि खनिए केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नमिले सर्वनाश हुने भनी आफ्नै पार्टीका नेता पछिल्लो अभिव्यक्तिप्रति व्यंग्य गरेका छन् । भुसालले कम्युनिष्ट पार्टीहरू आउने स्थानीय चुनावमै मिल्नुपर्ने बताएका थिए ।
ओलीले भुसालको नाम नलिई तथाकथित बुद्धिजिवीहरूले कम्युनिष्ट नमिले एमाले सिद्धिन्छ भन्ने ढंगले निरास बनाए पनि एमाले एक्लै जित्न सक्षम रहेको बताए ।
ओलीले भने, ‘नेकपा एमालेका बारेमा कम्युनिष्ट पार्टीहरू मिल्ने कि समाप्त हुने भनेर तथाकथित बुद्धिजिवी त्यसमा कोही कम्युनिष्टको खोल ओढेका पनि हुन्छन् उनीहरूले लेख्छन् र निरास बनाइदिन्छन् । हिजोमात्रै मोहन वैद्यले स्थानीय चुनाव बहिष्कार गर्ने भन्दै थिए । किन बहिष्कार गर्ने भन्दा कहिँ जित्ने नभए । अब त्यो पार्टीसँग मिलेर चुनाव लडेन भने एमाले सिद्धिन्छ रे । एउटा बुद्धिजिवीलाई त्यस्तो लागेछ ।’
एमाले एक्लैले स्थानीय चुनावमा ६० प्रतिशत जित्ने दाबी उनले गरे ।
ओलीले भने, ‘माधव नेपाल भन्ने गुटलाई भनेको कि एमालेलाई ? एमालेलाई भनेको हो भने यस्तो जिस्काउने कुरा नगर्न म सबैलाई सुझाव दिन्छु । झण्डै दुईतिहाइको हैसियतमा रहेको कम्युनिष्ट पार्टीलाई फुटाउने कम्युनिष्ट हुन्छ आफ्नो पार्टीको सरकारलाई भोट नदिएर भाग्ने,अन्त गएर भोट हाल्ने । पार्टीलाई भोट हाल्न परे नहाल्ने, प्रतिक्रियावादीलाई परे पछिल्लो ढोकाबाट गएर भोट हाल्ने । यस्तालाई कम्युनिष्ट मानेर एमालेले मिलिदिनुपर्ने ?’
अध्यक्ष ओलीले देशमा दुई खाले राजनीतिक शक्ति रहेको भन्दै कम्युनिष्ट एकता भनेर गीत गाउँनु बेकारको तमासा भएको बताए । कम्युनिष्ट पार्टी ढाल्न बाहिर गएर भोट हाल्ने, अनि दक्षिणपन्थी सरकार बनाउनेहरूलाई एमालेले कम्युनिष्ट मानेर बोक्न नसक्ने बताए ।