जनताको मन जिते मत जित्न गाह्रो छैन : कांग्रेस नेता महर - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

जनताको मन जिते मत जित्न गाह्रो छैन : कांग्रेस नेता महर



कञ्चनपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा लागेको बताएका छन्। नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित एक महिने अभियानको अघिल्लो दिन कंचपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्।

‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि कञ्चनपुर पुगेका नेता महरले जनताको मन जित्न सके मत आफै प्राप्त हुने दाबी गरेका छन्। ‘कांग्रेस देशको जिम्मेवार पार्टी हो। कम्युनिस्टले दुई तिहाइको सरकार बनाएर पनि केही गर्न सकेनन्। देश अप्ठ्यारो अवस्थामा पुग्दा कांग्रेसले नै सत्ता सम्हाल्नुपर्‍यो,’ उनले भने।

उनले कांग्रेसलाई जन-जनको मन-मनको पार्टी बनाउनुपर्ने धारणा राखेका छन्। एमालेले गफतन्त्रको बाटो अंगालेर लोकतन्त्रको बाटो भुलेको महरको आरोप छ। त्यस्तै अन्य राजनीतिक दलहरूको अस्थिरतालाई पनि जनताले देखेकाले कांग्रेस नै विश्वासिलो पार्टी भएको उनले दाबी गरे।

‘हामी प्रत्येक वडामा पुगेर जनतालाई कांग्रेसले गरेका सकरात्मक कर्मका बारेमा जानकारी गराउने छौं। हामी धेरै बोल्दैनौं। भ्रमको खेति पनि गर्दै नौं। कांग्रेस देशको जिम्मेवार पार्टी हो। त्यसैले जिम्मेवारी पूर्ण ढंगले अगाडि बढ्नुपर्छ। हाम्रा काम, कर्म र अभिव्यक्ति पनि जिम्मेवार हुनुपर्छ,’ उनले भने। महरले जनताको मन जित्न सके मात्रै नेपालमा लोकतन्त्र सुरक्षित हुने बताएका छन्।

केही कारणवस चाहे अनुरुप काम गर्न नसके पनि कांग्रेसले आफ्नो अभिभारा नभुलेको उनले बताए। जनताले दुई तिहाइका साथ विजयी गराए कांग्रेसलाई आफ्नो अभिभारा पुरा गर्न सहज हुने महरको भनाइ छ।

‘हामी मजुदुरको घरमा पुग्ने छौं। बुद्धिजिवीका बिचार सुन्ने छौं। जनताका अपेक्षा सुन्ने छौं। कांग्रेसका योजना सुनाउने छौं। अब हामी जनतासँग हुने छौं,’ उनले भने। राजनीति जनताका लागि गरिने भएकाले कांग्रेस जनताको घरदैलोमा पुग्न चाहेको महरको भनाइ छ।

घरघर जाऔं, कांग्रेस जिताऔं अभियान अन्तर्गत केन्द्रीय नेताहरू ७७ वटै जिल्ला, ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा पुग्ने भएका छन्।