चुनावपछि मात्रै माओवादीका पदाधिकारी चयन गर्ने निर्णय - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

चुनावपछि मात्रै माओवादीका पदाधिकारी चयन गर्ने निर्णय



काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले निर्वाचनपछि मात्रै पार्टी पदाधिकारी चयन गर्ने भएको छ। माओवादीले घोषित स्थानीय तहको निर्वाचान सकेपछि मात्रै पदाधिकारी चयन गर्ने भएको हो ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको नेताहरुको अनौपचारिक बैठकले स्थानीय चुनाव (३० वैशाख) पछिमात्रै बाँकी पदाधिकारी टुंगो लगाउने निर्णय गरेको हो ।

यसअघि केन्द्रीय कमिटी बैठकले नै पदाधिकारी टुंगो लगाउने बताइएको थियो। तर एमसीसीले पार्टीभित्र उथलपुथल ल्याएपछि तत्काल पदाधिकारीका लागि सहमति जुट्ने अवस्था नरहेको नेता रामनारायण बिडारीले जानकारी दिए।

उनले बैठकले केन्द्रीय कमिटीलाई भने पूर्णता दिने उनले बताए । उनले भने, ‘तत्कालको लागि केन्द्रीय कमिटीले पूर्णता पाउने छ। पोलिटब्युरो र स्थायी कमिटीको लागि पनि जिम्मेवारी बाँडफाँड हुनसक्छ। तर, पदाधिकारीको लागि अहिले सहमति जुट्ने वातावरण छैन, यो अब चुनावपछि हुन्छ।’

बैठकमा आज गत शुक्रबार नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले उठाएका विषयमाथि छलफल हुने र त्यसपछि प्रचण्डले जवाफ दिने कार्यसूची छ। यससँगै बैठकले आगामी स्थानीय निर्वाचनका लागि नेताहरुको कार्यविभाजन पनि तय गर्ने बताइएको छ। केन्द्रीय कमिटी बैठक जारी छ।

गत पुस ११ देखि १८ गतेसम्म महाधिवेशन गरेको माओवादी केन्द्रले २ सय ४६ केन्द्रीय सदस्य र अध्यक्षमात्र चयन गरेको छ।

महाधिवेशनपछि पुस १९ गते बसेको पहिलो केन्द्रीय कमिटी बैठक अध्यक्षमा प्रचण्डलाई चयन गर्दै सकिएको थियो। महाधिवेशनले पदाधिकारी छनोट गर्ने जिम्मा केन्द्रीय कमिटीलाई दिएको थियो।

माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ। आकांक्षी धेरै भएपछि पदाधिकारी चयन नगरी केन्द्रीय सदस्य मात्र चयन गरेर महाधिवेशन सकिएको थियो।