देशभित्रै विरोध हुन थालेपछि पुटिनले लगाए सामाजिक सञ्जालहरू प्रतिबन्ध, मिडियामाथि कडा कानुन - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

देशभित्रै विरोध हुन थालेपछि पुटिनले लगाए सामाजिक सञ्जालहरू प्रतिबन्ध, मिडियामाथि कडा कानुन



काठमाडौं- युक्रेनमाथि आक्रमण जारी राखेको रूसले आफ्नो देशमा सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएको छ। रूसले फेसबुक, ट्विटर‚ युट्युबलगायतमा प्रतिबन्ध लगाएको हो।

युक्रेनमाथि जारी आक्रमणको विरोधमा रूसमा ठूला प्रदर्शनहरू बढेपछि उसले यी सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो।

यस्तै‚ रूसले आफ्नो सेनामाथि झुटा समाचार लेख्नेहरूविरुद्ध जेल सजायसमेत तय गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाविरुद्ध ‘फेक न्यूज’ प्रकाशन गरे १५ वर्ष जेल सजाय हुने एक विधेयकमा हस्ताक्षर गरेका छन्। उक्त विधेयकलाई बिहीवार रुसी संसदले पारित गरेको थियो।

केही दिन यता रूसमा थुप्रै स्वतन्त्र सञ्चार माध्यमहरू बन्द भएका छन्। यस्तै‚ अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि रूसमा आफ्नो काम बन्द गरेका छन्। बिबिसी, सिएनएन र ब्लुमबर्ग न्यूजले रूसमा काम गर्न छोडेका छन्।

रूसले सेनाविरुद्ध समाचार लेखे १५ वर्षको कैद सजाय हुने कानुन ल्याएसँगै धेरैजसो सञ्चार माध्यम बन्द भएका हुन्। यी सञ्चार माध्यमले स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गरे पनि झुठो आरोपमा सजाय हुन सक्ने आशंका गरेका छन्।

रूसले दशौँ दिनसम्म युक्रेनमाथि आक्रमण जारी राखेको छ। उसले ठूला सहर लक्षित आक्रमण तीव्र बनाएको अधिकारीहरूले बताएका छन्।