रुसमा संकट सुरू हुने र पुटिनको नराम्रो अन्त्य हुने दाबी - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

रुसमा संकट सुरू हुने र पुटिनको नराम्रो अन्त्य हुने दाबी



काठमाडौँ – रूस तथा युक्रेन युद्ध आउने क्षणहरू अझै भयानक हुँदै जाने बीबीसीका एक पत्रकारले लेखेका छन् । युद्धको स्थिति रूसले अपेक्षा गरेभन्दा पनि निकै अप्ठ्यारो हुँदै गएको र यसले रूसी जनता तथा सेनालाई नै असर गर्दै जाने जनाइएका छन् ।

बीबीसी संवाददाता फगल किनले एक लेख लेख्दै यस द्वन्द्वको सबैभन्दा खतरनाक क्षणहरू अगाडि आउन बाँकी रहेको जनाएका छन्। रूसी राष्ट्रपति पुटिनले अपेक्षा गरेभन्दा धेरै ठूलो प्रतिरोधको सामना गर्नुपरेको भन्दै यसले आगामी दिनमा रूस झन् झन समस्यामा पर्ने जनाएका छन्।

युक्रेन आक्रमण पश्चात रूसी सेनाले अपेक्षा गरेभन्दा धेरै क्षति तथा अप्ठ्यारो स्थिति देखिएको पनि किनले जनाएका छन् । रूसले जसरी पहिला आँकलन गरेको थियो स्थिती हाल निकै अपठ्यारोमा पुगेको र अन्य राष्ट्रहरूले पनि युक्रेनलाई हतियार पठाउन थालेकाले स्थितिमा झन् झन् अप्ठ्यारोतिर धकेलिएको छ ।

पश्चिमी राष्ट्रहरूले प्रतिबन्धमा एकमत देखाएका छन् । रूसले अब पुन: यी राष्ट्रहरूलाई प्रभावमा पार्न निकै समय लाग्नेछ । हुन त यो लडाई पुटिनको अस्तित्वको लडाई समेत हो । जसबाट हेर्दा उनको सत्ताको दिनगन्ती समेत सुरु हुनेछ । त्यसैले पनि पुटिन यो लडाई जसरी पनि जित्नुपर्ने देखिन्छ । लडाईं हारेमा अपदस्थ हुने वा अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणको सामना गर्ने सम्भावना उनको दिमागमा हुनेछ।

पुटिनको लक्ष्य कीभमा सरकार हटाउन र कठपुतली शासन स्थापना गर्नु हो। जसले आगामी दिनमा युक्रेनीहरूबाट हुने प्रतिरोधी भावनाको विकासमा नियन्त्रण राखोस्। यसरी बनेको सरकारलाई पुटिन आफ्नो इसाराले चलाउन सक्नेछन् ।

युक्रेनी जनताहरूले पनि सूचनाको यस लडाईंमा सोचेभन्दा धेरै सक्रियता देखाएका छन् । युक्रेनीहरू राष्ट्रपतिको आग्रह तथा देशमा आएको विपत्ती देखेर सैनिक भएका छन् । उनीहरूको मुख्य डर भनेको आफ्नो देशलाई आक्रमणकारीबाट बचाउनु रहेको छ ।

सैनिक भएका र हतियार पाएका युक्रेनीहरू कसरी हुन्छ रसियनहरूलाई युद्धबाट धपाउन चाहान्छन् । रूसी सेनाहरूले चारैतिरबाट आक्रमण तथा गोलाबारीले गर्दा नागरिकहरूमा भने डर तथा त्रास भरिएको देखिन्छ ।