एकीकृत समाजवादीले सरकार छोड्ने झलनाथको संकेत - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

एकीकृत समाजवादीले सरकार छोड्ने झलनाथको संकेत



काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले संविधान मिचेर जबरजस्ती एमसिसी टेबुल गरेको बताएका छन्।

संघीय कानुन नै बनेको अवस्थामा जबजरस्ती एमसिसी टेबुल गरेर सरकारले संविधानविरोधी काम गरेको खनालले बताएका हुन्।

संसद बैठकपछि प्रतिनिधिसभा भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमसिसी टेबुल गर्नबारे आफूहरूको पार्टीमा कुनै निर्णय नभएको दाबी गरे।

‘हाम्रो पार्टीको स्थायी कमिटी बैठकले यथास्थितिमा कुनै हालतमा पारित गर्नु हुँदैन भनेर निर्णय गरेको छ,’ खनालले भने,‘पार्टीमा टेबुल गर्ने निर्णय भएको छैन, कसैले बोले पनि व्यक्तिगत निर्णय हो।’

खनालले सरकारमा बस्ने नबस्नेबारे सोमबारदेखि छलफल सुरू हुने जिकिर गरेका छन्। ‘सरकारबारे भोलिदेखि सोच्छौं, पार्टीको बैठक बसेर अगाडि बढ्नबारे निर्णय हुन्छ,’ उनले भने।

अमेरिकाको दबाबमा आफ्नो पार्टीमात्रै होइन देश नै विभाजित भएको उनले बताए।

सम्मानित नेता खनालले एमसिसी टेबुल गर्नबारे पार्टीमा निर्णय नभएको बताए पनि मन्त्रीसमेत रहेकी एकीकृत समाजवादीकी नेतृ रामकुमार झाँक्रीले भने एमसिसी टेबुल गर्न पार्टीमा सर्वसम्मति निर्णय भएको बताइन्।

उनले संसदमा टेबुल भैसकेपछि संशोधनको विकल्प खोजिनसक्ने जानकारी दिइन्।