संसदमा छलफल नै नगरी सदनमा एमसीसी टेबल
काठमाडौं- आइतबारको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल भएको छ। कार्यसूचीको तेस्रो नम्बरमा यस विषयलाई राखिएको थियो। तर टेबल नहुँदै यसमाथि ‘छलफल प्रारम्भ’ भएको छ।
प्रतिनिधि सभाको बैठक प्रारम्भ हुनासाथ एमालेका सांसद्हरुले वेल घेराउ गरेर विरोध प्रारम्भ गरेका थिए। उनीहरुले गत भदौ २३ गते यताका सबै बैठक अवरोध गर्दै आएका छन्।
आइतबारको बैठक सुरु हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलाई बोल्नका लागि समय दिएका थिए। उनले राष्ट्रिय सहमति नभइ सम्झौता टेबल गर्न नहुने विचार राखेका थिए। आफूहरुले कार्यव्यवस्था समितिमा पनि असहमति पत्र बुझाएको बताएका थिए।
त्यस्तै, सदन अवरोधकर्ता एमालेका सांसद् भीम रावलले पनि एमसीसीको विरोधमा धारणा राखेका थिए। आफ्नो सिटमै बसेका उनले एमसीसी टेबल गर्ने कुरा आपत्तिजनक भएको बताए। उनीपछि नेमकिपाका सांसद् प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद् दुर्गा पौडेलले पनि धारणा राखेका थिए। सबैले एमसीसीको विरोध गर्दै धारणा राखेका थिए।
‘देश र सार्वभौमिकतालाई पैसासँग साट्न सकिँदैन। यसलाई टेबल गर्नुहुँदैन। खारेज गर्नुपर्छ। श्रीलंकाले झै हामीले पनि खारेज गर्नुपर्छ’, पौडेलले भनिन्।