संसद्को रोचक दृश्य: एमालेले नाराबाजी गर्दै, एमालेकै नेता रावल बोल्दै
प्रतिनिधिसभाको बैठकमा अहिले विशेष समयमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले सभामुखविरुद्ध नाराबाजी गर्दै संसद अवरोध गरिरहेका छन् ।
तर, एमालेकै सांसद भीम रावलले विशेष समयमा एमसीसी संसदमा टेबल गर्ने विषयमा आफ्नो धारणा राखिरहेका छन् । उनले एमालेको विरोधका बीच एमसीसी टेबल गर्ने कार्यसूची आएको भन्दै आपत्ति जनाएका छन् ।
उनले विदेशीसँग डराएर लम्पसार परेर एमसीसी टेबल गर्न लागिएको बताएका छन् । उनले यो वातावरणमा एमसीसी टेबल गर्नु जनताको अपमान र संसदको अपमान भएको बताएका छन् ।
रावलभन्दा पहिला माओवादी केन्द्रका सांसद देव गुरुङले आफ्नो धारणा राखेका छन् । उनले एमसीसी अगाडि बढाउने विषयमा आफ्नो दलको आपत्ति रहेको बताउँदा अध्यक्ष पुष्पकमल दाहाललगायतका माओवादी सांसदले टेबल ठोकेका थिए । तर, माओवादी केन्द्रले एमसीसी टेबल गर्न सहमति पनि गरिसकेको छ ।