माधव नेपालका कारण प्रचण्ड धर्मसङ्कटमा, देउवा खुसी
काठमाडौं- पाँच दलीय गठबन्धनमा खास गरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी सहायता परियोजना एमसीसी पास गर्न साथ नदिएपछि विकल्पको खोजीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवारबाट केही राहत मिलेको छ । भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने धर्मसंकटमा परेका छन् ।
माधव नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजवादी (एस)पार्टीले संसदमा एमसीसी टेबुल गर्न दिने निर्णय गरेपछि प्रधानमन्त्रीलाई राहतको महसुस भएको छ भने प्रचण्डलाई थप तनावमा पारेको छ । गठबन्धन दलभित्र कांग्रेस एक्लैले एमसीसी टेबुल गर्नुपर्ने, सार्वभौम संसदले मात्र यसको निर्णय गर्नुपर्ने अडान राख्दै आएको कांग्रेसलाई एस पार्टीले पनि साथ दिने भएको हो । तर कम्युनिष्ट सहयात्री माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एस पार्टीको सो निर्णयबाट थप तनाव थपिने भएको छ । एस पार्टीको सो निर्णयपछि गठबन्धनभित्र निकै दबाबमा रहेका छन् ।
गत असोज १३ गते आफूसँगै मिलेर फागुन १६ गतेभित्र एमसीसी सदनबाट पास गराउने प्रतिवद्धता जनाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिममा साथ नदिएपछि प्रधानमन्त्री देउवाले विकल्पमा एमालेलाई फकाउने कोसिसमा लागेकै कारण एस पार्टीले बाध्य भएर संसदमा एससीसी पेश गर्न दिने निर्णय गरेको थियो । बिहीबार अपरान्ह बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा माओवादी अध्यक्ष प्रचण्ड अर्को सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी तत्कालै संसदमा लैजान तयार नभएपछि देउवा बालुवाटारबाट सिधै बालकोट पुगेर एमालेको साथ खोजेका थिए ।
पत्नी आरजु राणालाई साथमा लिएर राति साढे ८ मा ओली निवास बालकोट पुगेका देउवाले त्यहाँ झण्डै दुई घण्टा बिताएका थिए । बालकोट निवासको बैठक कक्षमा ओलीसँग देउवा र पत्नीले संसदमा १६४ दिनदेखि जारी गतिरोध र एमसीसी पास गर्ने उपायबारे कुरा गरेपछि माओवादी केन्द्र र एस पार्टीभित्र तरंग उत्पन्न भएको थियो । सोही तरंगका कारण एस पार्टीले तत्कालै गठबन्धन टुटाउनु भन्दा कांग्रेससँग मिलेर जानुनै उपयुक्त हुने नीति अबलम्बन गर्दै पार्टीको आधिकारिक बैठकमा एमसीसीबारे निर्णय गराएको हो ।
बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा देउवाले असोज १३ मा लेखेको पत्र अनुसार नै एमसीसीलाई फागुन १६ गतेभित्र संसदबाट पास गर्ने अडान लिएका थिए । तर उनलाई त्यहाँ प्रचण्ड र नेपालसहित झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ समेतले संशोधन नगरी अघि बढाएमा समर्थन गर्न नसकिने बताएका थिए । गठबन्धनका दलहरूबाट आफूलाई धोका भएको भन्दै देउवा त्यहाँबाट बालकोट पुगेर ओलीलाई फकाउन जुटेपछि एस पार्टी निकै अप्ठेरोमा परेको थियो ।
एमालेबाट भर्खरै विभाजित भएको र आगामी निर्वाचनमा कही कतैबाट पनि आफ्नो उपस्थिति जनाउन सक्ने अवस्था नबनेकाले तत्कालका लागि गठबन्धनको साथ छाड्नु घातका हुने निष्कर्षसहित शनिवारको बैठकमा अध्यक्ष नेपालले एमसीसी संसदमा टेबुल गर्न दिने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बैठकमा अध्यक्ष नेपालले एमसीसीलाई संसद्मा टेबल गर्न दिने मध्यमार्गी निर्णय गराएका हुन् । तर, संसद्मा टेबल भएको एमसीसी यथास्थितमै पारित गर्न भने नसकिने निष्कर्षलाई भने यथावत राखेका छन् । बैठकमा अध्यक्ष नेपालले एमसीसीसँग सम्बन्धित बुँदागत रुपमा जानकारी गराएका थिए । बैठक पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको विषयमा धारणा राखेका थिए । बैठकमा स्थायी कमिटीका सदस्यहरुले गठबन्धनलाई जोगाउनु पर्ने धारणा राखेका थिए ।
एमसीसीबारे अध्यक्ष नेपालले स्थायी कमिटी बैठकमा असंलग्न परराष्ट्र नीति प्रतिवद्ध रहने, कुनै पनि सेना र सुरक्षा नीतिको अंग हुन सक्दैनौं,छिमेकी देशको सुरक्षामा असर पार्ने कुनै पनि काम गर्न दिँदैनौ र कसैको पक्ष वा विपक्षमा प्रयोग हुँदैनौं,नेपाली भूमी हुने सबै कार्यमा नेपालको अधिकार सुरक्षित रहने भन्दै व्याख्या गरेका थिए । उनले नेपालभित्रको आयोजनाको रोजगारीमा नेपालीको प्राथमिकता रहने, नेपालमा उत्पादन भएको विषयको वौद्धिक सम्पत्तिमाथि नेपालको अधिकार रहने,कानुन लागू हुने विषयमा प्रचलित अभ्यास नै लागू हुने ,कर लगायतको छुट विदेशीहरुलाई दिन सकिदैन,उन्मुक्ति दिन सक्दैनौं,एमसीसीलाई आर्थिक सहयोगको रुपमा स्वीकार गर्ने जस्ता विषयमा बुँदागत व्याख्या गरेको स्रोतले जनाएको छ ।
विहिबारको बालुवाटारको बैठकमा गठबन्धनका नेताहरुले एमसीसी पास गर्ने जिद्दी छाडेर पहिले संसद खुलाउन देउवामाथि दबाब दिएका थिए । नेताहरुले पहिले एमालेले भदौ २३ गतेदेखि गरिरहेको संसदको अवरोध खुलाए मात्रै एमसीसीसहित अन्य विधेयक पनि पेश गर्ने ढोका खुल्ने तर्क गर्दे देउवालाई अप्ठेरोमा पारेका थिए । तर कांग्रेसका नेताहरुले माओवादीको दोहोरो नीति र सभामुखको भूमिकाको विषयमा असन्तुष्टि जनाएपछि माओवादी केन्द्र र एस पार्टी अप्ठेरोमा परेको थियो ।
‘विहिबारपछि गठबन्धन भत्कियो भन्ने चरणमा पुगेको थियो तर शनिवार एस पार्टीको निर्णयले माओवादीलाई पनि सहमतिमा आउन दबाब दिएको छ, एस पार्टीको मध्यमार्गी भूमिकाले प्रचण्ड दबाबमा छन्’, स्रोतले भन्यो । प्रधानमन्त्री देउवाले एमसीसीमा सहकार्य गर्न एमालेसँग प्रस्ताव राखेको र उस्तै परे सभामुखलाई महाभियोग लगाउन समेतपछि नहट्ने अवस्था आएकै कारण प्रचण्ड र माधव नेपाल दबाबमा परेका थिए ।