कमल थापालाई अध्यक्ष बनाएका लाक्पा तामाङ नै पार्टीबाट निकालिए - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

कमल थापालाई अध्यक्ष बनाएका लाक्पा तामाङ नै पार्टीबाट निकालिए



काठमाडौं- कमल थापालाई पार्टीको अध्यक्ष सुम्पिएका लाक्पा नै पार्टीबाट निकालिएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष लाक्पा तामाङ साधारण सदस्यबाटै निष्काशित भएका छन् ।

अध्यक्ष तामाङले पार्टी हित तथा विधान विपरीत काम गरेको भन्दै साधारण सदस्यबाटै निष्काशन गरिएको हो।

पार्टीले शुक्रबार गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष तेजराज भुजेलले आफ्नो अध्यक्षतामा बसेको पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठकले अध्यक्ष तामाङलाई कारबाही गरेको बताए।

पार्टीको २१ सदस्यीय कार्यसमितिमध्ये १५ सदस्यले कारबाही गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय पार्टीमा देखा परेको विवाद समाधानका लागि पार्टीका नेता प्रदीपविक्रम राणालाई कार्यसमितिको संयोजक बनाउने निर्णय गरेको थियो।

संयोजक राणाले पार्टीको वैचारिक दृष्टिकोण संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र भएकामा अध्यक्ष तामाङले केन्द्रीय कार्यसमितिको बैठक नराखी कमल थापालाई अध्यक्ष बनाएर पार्टीले गणतन्त्रको सिद्धान्त अवलम्बन गरेको अभिव्यक्ति दिएको घटना आश्चर्यजनक भएको तथा नियमसङ्गत नभएको बताए।

उनले यस घटनाप्रति कानूनी उपचार खोज्ने क्रममा निर्वाचन आयोगमा निवेदनका साथै पाटनस्थित उच्च अदालतमा कार्य समितिका १५ सदस्यले मुद्दा दर्ता गरिसकेको बताए।

गत मङ्सिरमा राप्रपाको अधिवेशनमा अध्यक्ष पदमा पराजित थापाले हालै त्यो पार्टी परित्याग गरी राप्रपा (नेपाल) को नेतृत्वमा आफू रहेको भन्दै यही फागुन ७ गते शनिबार घोषणा सभा गर्ने भएका छन्।