बैठकमा गगन थापाको प्रस्ताव: देशको हितमा नगए एमसीसी खारेज हुने संकल्प प्रस्ताव पारित गरौँ
काठमाडौं- सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीमा उठेका प्रश्नहरूको निवारण गर्न फरक प्रस्ताव गरेका छन् । नेता थापाले एमसीसी पूरकरूपमा संकल्प प्रस्ताव पारित गर्न प्रस्ताव गरेका थिए ।
बैठकमा महामन्त्री थापाले एमसीसीबाट नेपालको हितविपरीत कुनै काम हुन नदिने र त्यसो भएको खण्डमा सम्झौता खारेज गरिने संकल्प प्रस्ताव पारित गर्न प्रस्ताव गरेका थिए । गठबन्धनका शिर्ष नेताहरूको मत बाझिएपछि थापाले यस्तो प्रस्ताव ल्याएका हुन् ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने सन्दर्भमा उठेका प्रश्नहरूको निवारणका लागि संसदबाटै साझा संकल्प पारित गरेर जान सकिने भन्दै थापाले यसमा अब धेरै अल्झिएर नहुने बताएका थिए ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकमा महामन्त्री थापाले एमसीसी अनुमोदनसँगै एमसीसी पूरकरूपमा संकल्प प्रस्ताव पारित गर्न सकिने प्रस्ताव गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमै अर्कै हिसावले घटना बिकशित भएको बताएका थिए ।
बैठकमा छलफल सुरू गर्दै एमसीसी संसदबाट अनुमोदन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान लिएका थिए भने माओवादी र एकीकृत समाजवादीका नेताहरूले आफ्नै पुराना अडान दोहोर्याएका थिए । यसैक्रममा थापाले ‘एमसीसीबाट नेपालको हितविपरीत कुनै काम हुन नदिने र त्यसो भएको खण्डमा सम्झौता खारेज गरिने’आशयको संकल्प प्रस्ताव पारित गर्न सकिने बताएका थिए ।
थापाले भनेका थिए, ‘जे जति प्रश्न उठेका छन् त्यसलाई प्रष्ट पारौं । यदि भविष्यमा नेपालको हितविपरीत कुनै काम भएमा सम्झौता खारेज गर्न तत्पर छौं भनेर संकल्प प्रस्ताव पनि पारित गरौं । यसो गर्दा सबैको सरोकार सम्बोधन हुन्छ ।’