महाअभियोगमा दुईतिहाइ पुर्याउन कांग्रेसको यस्तो गृहकार्य
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गराउने गृहकार्य सुरु गरेको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकमा प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनका तीन दल मिलेर दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा छलफल भएको हो ।
महामन्त्री एवं सांसद गगन थापाका अनुसार कांग्रेसले प्रस्ताव पारित गराउन आवश्यक दुईतिहाइ मत पुर्याउन संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूसँग छलफल थाल्ने भएको हो ।
“महाअभियोग प्रस्तावबारे छलफल भयो । गठबन्धनमा हुनुभएका र प्रतिपक्षमा हुनुभएका साथीहरू जो यसमा सहभागी हुनुभएको छैन, संसदीय दलको तर्फबाट केही साथीहरू पठाएर छलफल गर्ने बैठकबाट टुंगो लगाएका छौँ,” थापाले भने ।