एमाले संसदीय दलको बैठकभित्र भीम रावलले गरेको त्यो विद्रोह - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

एमाले संसदीय दलको बैठकभित्र भीम रावलले गरेको त्यो विद्रोह



काठमाडौं- नेकपा एमालेको संसदीय दलले सोमबार सांसदहरुको हस्ताक्षर संकलन गर्‍यो । एमाले प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार आवश्यक परेका ठाउँमा कदम चाल्न खाली कागजमा हस्ताक्षर संकलन गरिएको थियो ।

तर एमालेका ९८ सांसदमध्ये पाँच जनाले हस्ताक्षर गर्न अस्वीकार गरे । हस्ताक्षरको प्रयोजन नखुलेको भन्दै भीम रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपट रावल र दीपकप्रकाश भट्टले हस्ताक्षर गरेनन् ।

परमादेश दिने सर्वोच्च अदालतका अन्य चार न्यायाधीश र सभामुख अग्निप्रसाद सापकोटामाथि एमालेले महाभियोग लगाउने चर्चामाझ हस्ताक्षर संकलन गरिएको थियो । महाभियोगबारे निर्णय उच्चस्तरीय नेतृत्वले गर्ने प्रमुख सचेतकले भट्टराईले बताएका छन् ।

यसमा हस्ताक्षर अस्वीकार गर्ने रावल प्रयोजनबिनाको खाली कागजमा हस्ताक्षर गर्नुको औचित्य नरहेको बताउँछन् । ‘खाली कागजमा हस्ताक्षर किन गर्ने?’ रावल प्रश्न गर्छन्, ‘मैले उपस्थितिमा हाजिरी जनाए र त्यो खाली कागजमा कुनैमा पनि सही गरेन।’

खाली कागजमा हस्ताक्षर संकलन गर्न कर्मचारीहरु आएको भन्दै रावलले थपे, ‘मैले खाली कागजमा हस्ताक्षर गर्दिन भने । नेताहरु आएको भए म किन भनेर सोध्थे । कर्मचारीलाई सोध्ने कुरा भएन । मैले गर्दिन भने । मलाई थप कसैले गर पनि भनेन ।’

महाभियोगमा नलाग्न सुझाव

रावलले संसदीय दलको बैठकमा न्यायाधीशहरुमाथि महाभियोगको पक्षमा नलाग्न नेतृत्वलाई सुझाव दिएको पनि बताए । ‘प्रधानन्यायाधीशमिथ महाभियोग जसले राखेको हो उसले नै पुष्टि गर्ला । हामीले न्यायाधीशको महाभियोग हामीमाथिको आक्रमणजस्तो कुरा गर्नुहुँदैन भनेर ध्यानाकर्षण गराए,’ उनले भने, ‘मैले सुरुदेखि नै संसदले छलफल र छानविन गर्नुपर्छ भनेको हो । स्थानीय निर्वाचनको कुरामा बाधा अवरोध भयो, त्यसमा समस्या उत्पन्न गर्‍यो भने त्यसमा विरोध गर्ने कुरा छुट्टै विषय हो । तर न्यायाधीशसँग जोड्नुहुन्न भनेर मैले राखे ।’

एमसीसीको बारेमा पनि आपत्ति दफाहरु पढेर सुनाएको र आगामी फागुन ४ को बैठकमा टेबल हुने कुरा आएकाले यसमा गम्भीर रुपमा छलफल गर्न माग गरेको उनले बताए ।