महाभियोगका पछाडी ओलीले देखेका तीन प्रपञ्च
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोगबारे तीन निष्कर्ष निकालेका छन्।
एमाले अध्यक्ष ओलीले सोमबार नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै महाअभियोगको प्रस्तावका विषयमा आफ्नो धारणा राखेका हुन्।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अदालतलाई निरन्तर गिजोल्ने र अस्थिर बनाउने नियतले महाअभियोग प्रस्ताव ल्याएको ओलीले बताएका छन्।
त्यस्तै, स्थानीय निर्वाचन सार्ने मनसायले महाअभियोग प्रस्ताव ल्याएको अध्यक्ष ओलीको निष्कर्ष छ। महाअभियोगको प्रस्ताव ल्याउने तेस्रो कारण एमसीसी पारित गर्ने नियत भएको ओलीको भनाइ थियो।
संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनले गलत नियतले महाअभियोगको प्रस्ताव ल्याएकाले प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन्।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले सचिव योगेश भट्टराईले प्रधानन्यायाधीश जबरा विरुद्ध ल्याइएको महाअभियोग प्रस्तावका विषयमा गम्भीर समीक्षा भएको बताए। मुलुकलाई राजनीतिक अस्थिरतातिर लग्न महाअभियोग प्रस्ताव आएको संसदीय दलको बैठकको निष्कर्ष रहेको उनको भनाइ थियो।
यसलाई न्यायालयमाथिको हस्तक्षेपका रूपमा लिइएको बताउँदै भट्टराईले भने, “महाअभियोग प्रस्तावबारे संयम र धैर्यका साथ उपयुक्त निर्णय लिन्छौं।”
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबारे भने संसदीय दलको बैठकले कुनै निर्णय नगरेको उनले बताए। “पहिले एमसीसी सम्झौता संसद्मा पेश होस्, त्यसपछि उपयुक्त निर्णय लिन्छौं,” भट्टराईले भने।