जबराको पक्षमा उभिने एमालेको निर्णय - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

जबराको पक्षमा उभिने एमालेको निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगलाई षड्यन्त्रपूर्ण कदमको संज्ञा दिएको छ।

आज साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै महासचिव शङ्कर पोखरेलले भने,”प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावलाई अदालत, सिङ्गो लोकतन्त्र र सार्वभौम सत्तामाथिको प्रहारका रुपमा बैठकले ठहर गरेको छ।”

उनले यस कदमको प्रतिवाद गर्ने निर्णय भएको बताए। “यसलाई एमालेले गम्भीर ढङ्गले लिँदै प्रतिवाद गर्ने निर्णय गरेको छ।” उनले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यले महाभियोग प्रस्ताव ल्याएको बताए। सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध बिगार्ने षड्यन्त्रका साथ यो प्रस्ताव आएको उनले बताए।

महासचिव पोखरेलले भने, “आगामी स्थानीय तहको चुनावलाई समेत असर पार्ने र चुनावलाई पर धकेल्ने प्रयासका साथ महाअभियोग प्रस्ताव आएको छ, यो प्रस्तावले सर्वोच्च अदालतमा रहेका विचाराधीन मुद्दालाई प्रभावित पार्ने योजनाका साथ आएको हाम्रो ठहर छ, यसले देशको राजनीतिक प्रणालीलाई अस्थिर बनाउँछ।”

जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय बैठकले गरेको उनले बताए। महाभियोग असफल पार्न जरुरी रहेकाले सोमबार बस्ने एमाले संसदीय दलको बैठकले त्यसका लागि निर्देशन दिने र महत्वपूर्ण निर्णय गर्ने उनले बताए।