राप्रपा छोडेको चार दिन नबित्दै पुरानो पार्टीमै फर्किए कमल थापा - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

राप्रपा छोडेको चार दिन नबित्दै पुरानो पार्टीमै फर्किए कमल थापा



काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेको हप्ता दिन नबित्दै कमल थापा आफ्नो पूर्व पार्टी राप्रपा नेपालको अध्यक्ष भएका छन्।

राप्रपा नेपालको नेतृत्वमा हुँदा थापाले पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीसँग पार्टी एकता गरेका थिए। त्यसपछि राप्रपा नेपाल लाक्पा तामाङले आफ्नो नाममा दर्ता गराएका थिए।

तामाङले आइतबार एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपालको अध्यक्ष पद थापालाई हस्तान्तरण गरेको बताएका छन्। ‘एकदिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरि राप्रपा नेपालको आवश्यकता पर्नेछ भन्ने मेरो सोचाइ अहिले प्रमाणित भएको छ,’ थापालाई अध्यक्ष पद हस्तान्तरण गरिएको जानकारी दिन जारी गरिएको विज्ञप्तिमा तामाङले भनेका छन्।

राप्रपा नेपालको अध्यक्ष बनेपछि थापाले पार्टीलाई ठूलो बनाउने अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा परेपनि केही समयको अलमलपछि फेरि आफ्नो घर फर्केको बताएका छन्।

थापाले अब ‘हिन्दू राष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मूल अजेण्डा रहने बताएका छन्। यसअघि थापा नेतृत्वको राप्रपा नेपालले राजतन्त्रलाई मूल अजेण्डा मान्दै आएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशनबाट राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएका थापाले आफ्नो पराजयको कारण पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व राजपरिवार (निर्मल निवास) भएको बताउँदै आएका छन्।