पृथ्वीनारायण शाहले गरेको युद्ध र जनयुद्धको महत्व एकै छ: प्रचण्ड - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

पृथ्वीनारायण शाहले गरेको युद्ध र जनयुद्धको महत्व एकै छ: प्रचण्ड



काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीद्वारा १० वर्षसम्म सञ्चालित जनयुद्धलाई पृथ्वीनारायण शाहले गरेको राज्य विस्तारको युद्धसँग तुलना गरेका छन्।

२७औं जनयु्द्ध दिवसका अवसरमा आज बिहान काठमाडौंमा माओवादी केन्द्रको केन्द्रीय कार्यालयले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पृथ्वीनारायण शाहले गरेको युद्धपछि नेपाललाई नयाँ युगमा लाने युद्ध जनयुद्ध नै भएको दाबी गरेका हुन्।

प्रचण्डले भने, ‘नेपालको इतिहासमा पृथ्वीनारायण शाहले गरेको राज्य विस्तार अभियान भनौं, त्यतिबेला गरिएका युद्धका परिघटना त्यसको आफ्नै ऐतिहासिक पृष्ठभूमि थियो, त्यसपछि युद्धको रूपमा नेपाली समाजलाई झकझक्याउने नेपालको इतिहासलाई नै नयाँ मोड दिने नेपाललाई नै एउटा नयाँ युगमा पर्दापण गर्ने युद्ध, विद्रोह, क्रान्तिको रूपमा महान् जनयुद्ध स्थापित छ, स्थापित भयो। र, हामीले विस्तृत शान्ति सम्झौता, संविधान सभा, संघीय गणतन्त्रको घोषणा गर्दै गर्दा हामी सबै गौरवान्वित भयौं। नेपाल राष्ट्र नै गौरवान्वित भयो।’