अमेरिकाका सहायकमन्त्रीले तीन पार्टीका प्रमुखलाई टेलीफोन गर्दा राजनीतिमा भूकम्प
काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे चर्को बहस भैरहेका बेला अमेरिकाले तीन दलका शिर्ष नेताहरूलाई चेतावनी दिएको छ । बिहिबार बिहान अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेताहरूलाई टेलिफोन नै गरेर चेतावनी दिएको खुलेको छ ।
एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने वा नगर्नेमा नेपालका राजनीतिक दलहरुकाबीच तिव्र धुव्रिकरण बाढिरहेका बेला अमेरिकाले सिधै दवाव दिएपछि नेताहरू थप संकटमा परेका छन् । अमेरिकाकी राजदुत बेरीले प्रमुख दलका नेताहरुसँग भेटेर एमसीसी अनुमोदनका लागि ताकेता गरिरहेका बेला न्यूयोर्कबाटै पनि अमेरिकी सहायकमन्त्रीले नेताहरुलाई चेतावनी सहितको टेलिफोन गरेका छन् ।
फागुन १६ भित्रै एमसीसी सम्झौता संसदवाट अनुमोदन गराउने तयारीका साथ अमेरिकी सहायक मन्त्रीले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई छुट्टाछुट्टै संवाद गरेका छन् । अमेरिकाको दक्षिणपूवी एशिया हेर्ने सहायक विदेशमन्त्री लुले एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेका छन् ।
नेताहरूसँगको संवादमा सहायकमन्त्री लुले एमसीसी पास गर्न किन आलटाल गरेको भन्दै प्रश्न गरेको समेत खुलेको छ । टेलिफोन संवादमा लुले एमसीसी पारित गर्न छिट्टै वातावरण बनाउन आग्रह गरेको स्रोतले बताएको छ । त्यतिमात्र होइन एमसीसी पास नभएको खण्डमा अमेरिकाको अपमान भएको बुझिने समेत उनले बताएका छन् ।
लूसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन हुने प्रतिवद्धता जनाएका स्रोतको दावी छ । लूले फोनमा कुरागरेलगत्तै बिहीवार सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच कुराकानी भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालले देउवासँग भेट गरेका थिए ।
त्यस्तै एमाले अध्यक्ष ओली र लूबीच भएको संवादको क्रममा लूले एमसीसी पारित हुने सम्भावनाबारे बुझ्दै जतिसक्दो चाँडो संसदीय अनुमोदन गराउन ओलीलाई आग्रह गरेका थिए । एमसीसीलाई लिएर एमालेको पोजिसन उस्तै रहेको र सत्तारुढ दलले पोजिसन क्लियर गरेपछि मात्र आफूहरुले बोल्ने ओलीले बताएका थिए । प्रतिपक्षी दलको रुपमा एमसीसीबारे पोजिसन बनाउने स्थानमा आफ्नो दल नरहेको ओलीले बताएका थिए ।
यस्तै माओवादीका अध्यक्ष दाहालसँगको कुराकानीमा पनि उपविदेशमन्त्री लूले एमसीसी छिटो पास गर्न दवाव दिएको निकट स्रोतहरुले बताएका छन् ।
सहायक विदेशमन्त्री लुले चीनलाई लक्षित गदै नेपालमा एमसीसी अनुमोदन गर्न ढिलाई गरे वा अनुमोदन नभए चिनियाँ हस्तक्षेप भएको बुझिने समेत बताएको द्रोताको दाबी छ ।
त्यसअघि १ मंसीरमा तीनदिने नेपाल भ्रमण गरेका लुले तीन दलका शिर्ष नेताहरूलाई एमसीसी पारित गर्न दवाव दिएका थिए। उनले १४ डिसेम्बरसम्मको समय सीमा दिँदै एमसीसी पारित नगरेको अवस्थामा फिर्ता लैजाने बताएका थिए।
तर, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालले १३ असोजमा एमसीसी मुख्यालयलाई संयुक्त पत्र लेख्दै प्रतिनिधिसभामा एमसीसी पारितका लागि सहमति जुटाउन केही समय आवश्यक पर्ने बताउँदै पाँच महीनाको समय मागेका थिए।
यता राजदुत बेरीले गत मंगलबार मात्रै प्रतिपक्षी दलका नेता केपी ओलीसँग भेट गरेर एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरिसकेका छन् । ओली यसमा सकारात्मक छन् । तर एमालेका केहि नेताहरू भने यसको विपक्षमा छन् ।
लुको टेलिफोनपछि राजदुत बेरीले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गर्ने र शनिवार प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरेर एमसीसीबारे माहोल बनाउने बुझिएको छ ।
तर माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने यथास्थितीमा अनुमोदन गराउन नसक्ने बताएका छन् ।
कांग्रेसले भने कार्यसम्पादन बैठकबाटै यसलाई अनुमोदन गरेर जाने निश्कर्ष निकालेको छ । सभामुखमाथी दवाव बाढाउन कांग्रेसले सभामुखले सरकारले लाने प्रस्ताव रोक्न नमिल्ने धारणा पनि सार्वजनिक गरिसकेको छ ।
सहायकमन्त्री लुले गरेको टेलिफोनबारे संचारमाध्यममा सार्वजनिक भएपछि नेपालको सार्वभौमिकतामाथि नै प्रश्न उठाउने गरी अमेरिकाले दवाव दिएको भन्दै आलोचना भैरहेको छ । अमेरिकाको उपविदेशमन्त्रीले नेपालका दुई पूर्वप्रधानमन्त्री र एक बहालवाला प्रधानमन्त्रीलाई दिएको चेतावनीले राजनीति नै तरंगित बनेको छ ।