एमाले सांसदविरुद्ध करणी आरोपमा उजुरी दर्ता, पक्राउ पुर्जी जारी हुँदै
काठमाडौँ- पूर्वमन्त्री तथा मुगुका एमाले सांसद मोहनलाल बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले दिएको जाहेरी आज दर्ता भएको छ । जबरजस्ती करणी गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।
माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर सांसद बानियाँले जबरजस्ती करणी गरेको भन्दै दिएको जाहेरी बिहिबार दर्ता भएको हो । केही दिनअघि सांसद बानियाले होटलमा बास बसेको बेला शिक्षिकामाथी दुई पटकसम्म बलात्कार गरेको व्यहोरा उल्लेख गर्दै उनले जाहेरी दिएकी थिइन् ।
शिक्षिकाले दिएको जाहेरीमा हस्ताक्षर नभएका कारण दर्ता गर्न ढिलाई भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँके प्रहरीका अनुसार शिक्षिकाले जाहेरी दिने बेलामा हस्ताक्षर नगरेको र आज हस्ताक्षर गरेपछि दर्ता गरिएको हो ।
उजुरी दर्ता बिहिबार भए पनि अनुसन्धानको प्रक्रिया यसअघि नै सुरु गरिएको प्रहरीले बताएको छ । अनुसन्धान अन्तिम चरणमा रहेको जानकारी दिँदै प्रवक्ता न्यौपानेले शिक्षिकाको स्वास्थ्य परीक्षण भइसकेको र रिर्पोट आउन बाँकी रहेको पनि बताए ।
महिलाको रिपोर्ट आएपछि छिट्टै बानियाविरुद्ध पक्राउ पूर्जी जारी गरिने प्रहरीको भनाइ छ ।