एमसीसी पास गरेर जनतालाई बुझाउने कांग्रेसको निर्णय - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

एमसीसी पास गरेर जनतालाई बुझाउने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गरेर जनतामा जाने तयारी गरेको छ । कांग्रेसको सानेपामा बिहीबार बसेको कार्यसम्पादन समिति बैठकले एमसीसी अनुमोदन गरेर जनतामा लैजाने निष्कर्ष निकालेको हो ।

आजको बैठकमा सभापति शेरबहादुर देउवाले एमसीसीका विषयमा ब्रिफिङ गरिदिन पूर्वअर्थमन्त्रीसमेत रहेका नेता डा. रामशरण महतलाई आग्रह गरेका थिए ।

महतले लामो व्याख्यासहित एमसीसी स्वीकार गर्नु नै बुद्धिमानी हुने निष्कर्ष सुनाएपछि कांग्रेसले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।

कांग्रेस बैठकपछि पूर्वमहामन्त्री डा. शशांक कोइरालाले एमसीसी अनुुमोदन गरेर जानतामा जाने निर्णय गरेको जानकारी दिए ।

“एमसीसी नेपालको लागि राम्रो हो । कुनै अमेरिकी सेना यहाँ आउने होइन, यहाँकै कानुनअनुसार कार्यान्वयन गर्ने हो,” निर्णय जानकारी गराउँदै डा. शशांकले भने, “यो पाँचसय मिलियन डलरको ग्रान्ट हो । अनुमोदन गरेर यसका विषयमा जनतामा छरिएका भ्रम चिर्नुपर्छ ।”

उनले एमसीसी विकासका लागि भएको भन्दै विद्युत ट्रान्समिसन लाइन र सडक निर्माण गर्ने भएको भन्दै जनदतामा त्यो बुझाएपछि एमसीसी विरुद्धको मत कमजोर भएर जाने बताए । एमसीसी पारित गर्दा सत्ता गठबन्धन टुट्छ नि भन्ने प्रश्नमा शशांकले त्यसबारे पार्टीमा छलफल नभएको बताए ।

डा. रामशरण महतको बिफ्रिङपछि देउवाले जनता र अन्य दललाई समेत कन्भिन्स गर्ने विषय आएको भन्दै छोटकरीमा लेखरे ल्याउन महतलाई आग्रह गरेका छन् ।