योगी आदित्यनाथ जस्तो निर्दयी र क्रुर शासक मैले देखेको छैन: केजरीवाल - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

योगी आदित्यनाथ जस्तो निर्दयी र क्रुर शासक मैले देखेको छैन: केजरीवाल



काठमाडौं– भारतको नयाँ दिल्ली र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसद्मा दिएको अभिव्यक्तिलाई लिएर उनीहरूबीच भनाभन नै चलेको छ।

मोदीले संसद्मा सन् २०२० को मार्चमा लकडाउन घोषणा गरेपछि महाराष्ट्र र नयाँ दिल्लीका सरकारले आप्रवासी कामदारलाई घर जान दिएकाले कोरोना भाइरस धेरै फैलिएको बताएका थिए।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मोदीको कुरा सरासर झुट भएको भन्दै प्रतिवाद गरेका छन्। केजरीवालको आम आदमी पार्टीले पनि ट्विटरमा मोदी र केजरीवालको भिडियो राख्दै मोदीले झुट बोलेको बताएको छ।

उता उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि आफ्नो पार्टीका प्रधानमन्त्रीको कुरालाई झुटो भनेपछि आक्रोशित देखिएका छन्। उनले ट्विटरमा केजरीवालमाथि कटाक्ष गरेका छन्।

उनले लेखेका छन्, ‘सुन्नुस् केजरीवाल ! जब पूरा मानवता कोरोनाको पीडामा छटपटाइरहेको थियो, त्यो समयमा तपाईंले युपीका कामदारलाई दिल्ली छोड्न विवश पार्नुभयो। साना बालबालिका र महिलासम्मले आधी रातमा युपीको सीमामा असहाय छोड्नेजस्तो अलोकतान्त्रिक र अमानवीय कार्य तपाईंको सरकारले गर्‍यो। तपाईंलाई मानवताद्रोही भन्ने कि।’

आदित्यनाथले आफूलाई लगाएको आरोपको जवाफ केजरीवालले पनि ट्विटरमै दिएका छन्। आदित्यनाथको ट्विट कोट गर्दै उनले लेखेका छन्, ‘सुन्नुस् योगी ! तपाईं त कुरै नगर्नुस्। युपीका मानिसका शव नदीमा बगिरहेका बेला तपाईं करोडौं रुपैयाँ खर्चेर टाइम्स म्यागेजिनमा आफ्नो झुटो वाहवाहीको विज्ञापन दिइरहनुभएको थियो। तपाईंजस्तो निर्दयी र क्रुर शासक मैले देखेको छैन।’

आदित्यनाथले केजरीवाललाई लक्षित गरेर अरू पनि ट्विट गरेका छन् तर केजरीवालले तिनको जवाफ दिएका छैनन्।