विदेशीका लागि अष्ट्रेलियाका सीमाना खुल्ला गर्ने निर्णय - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

विदेशीका लागि अष्ट्रेलियाका सीमाना खुल्ला गर्ने निर्णय



सिड्नी । अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सिमा नाका फेरि खुल्ला गर्ने भएको छ । यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका छन् ।

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकहरुलाई प्रवेश निषेध गर्दै आएको अष्ट्रेलियाले प्रतिवन्धात्मक व्यवस्था खुकुलो बनाउदै लगेको हो । अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिवन्धात्मक व्यवस्थाहरु लागु गरेको देशमा पर्दछ ।

“झण्डै दुईबर्षपछि विदेशबाट आउने पर्यटकहरुलाई प्रवेश दिने निर्णय भएको हो,” प्रधानमन्त्री मोरिसनले भने ।राष्ट्रिय सुरक्षा सम्वन्धी बैठकपछि प्रधानमन्त्री मोरिसनले सवै प्रकारका प्रवेश आज्ञा पाएकाहरुलाई अष्ट्रेलिया आउन दिने निर्णय भएको जानकारी दिए ।

उनले भने, “यदी तपाईहरु कम्तीमा दुई पटक खोप लगाएको व्यक्ति हुनुहुन्छ भने हामी तपाईलाई अष्ट्रेलिया आउन आमन्त्रण गर्दछौं ।”प्रधानमन्त्री मोरिसनले कोरोना भाइरसको महामारी थप फैलिन नदिने उद्धेश्यले सान् २०२० को मार्चदेखि विदेशबाट पर्यटकहरु आउन नदिने निर्णय गरिएको बताए । त्यसपछि निरन्तर कोरोना भाइरस विरुद्ध लडिरहनु परेकाले अहिलेसम्म पर्यटकहरुका लागि खुल्ला गर्न नसकिएको उनले स्पष्ट पारे ।