देउवा र प्रचण्डलाई ओलीले सोधे: तपाईंहरूको कुरा के हो ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठकमा अमेरिकी परियोजना एमसीसी, स्थानीय तह निर्वाचन मिति, अवरुद्ध संसद खुलाउनेलगायत विषयमा कुराकानी भएको छ।
बैठकमा सहभागी एमाले महासचिव शंकर पोखरेलका अनुसार ओलीले एमसीसीबारे साझा धारणा बनाउन सत्ता गठबन्धनलाई सुझाव दिएका थिए। बैठकमा अध्यक्ष ओलीले देउवा र प्रचण्डलाई तपाईहरूको कुरा के हो ? पहिला गठबन्धनको धारणा क्लियर गर्नुहोस भन्दै त्यसपछि एमालेले आफ्नो पोजिसन क्लियर हुने बताएका थिए ।
गठबन्धनले साझा धारणा बनाएपछि मात्रै एमालेले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताएका थिए। कांग्रेसले एमसीसी पारित गर्नका लागि लबिङ गर्दै आएपनि अर्को सत्ता साझेदार दल माओवादी यस विषयमा स्पष्ट छैन। माओवादी अध्यक्ष प्रचण्डले संशोधन नगरी एमसीसी पास गर्न नसकिने अभिव्यक्ति सार्वजनिक कार्यक्रमहरूमा दिदैं आएका छन्।
तर, आइतबार सार्वजनिक गोप्य पत्रमा उनले बिना संशोधन एमसीसी पारित गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ। त्यसका लागि ४ महिनाको थप समय दिन देउवा र प्रचण्डले एमसीसी कार्यालयसँग संयुक्त रूपमा माग गरेका छन्। यो पत्र सार्वजनिक भएसँगै प्रचण्ड नैतिक संकटमा परेका छन्। दोहोरो चरित्र देखाएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ।
बैठकमा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले राजिनामा दिनुपर्ने माग पनि गरेको छ। “दलले कारबाही गरेका सांसदलाई सभामुखले मान्नुपर्छ नभए मार्ग प्रशस्त गर्नुपर्छ । सभामुखको भूमिकाका कारण हामी संसदमा उपस्थित हुन सकेका छैनौं । सत्ता पक्षले वातावरण बनाउनुपर्छ,” बैठकपछि महासचिव पोखरलले भने।