उखुबारी हत्याकाण्डमा नयाँ रहस्य: ४० हजारमा हत्या, थप पक्राउ
काठमाडौँ- मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा भएको हत्याकाण्डका अभियुक्तमध्ये फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार हत्याकाण्डका फरारमध्ये पक्राउ पर्नेमा सुनसरी देवानगन्ज–६ का १८ वर्षीय मोहमद हकिम र मोरङ रंगेली–३ का २२ वर्षीय मोहमद सुभाम रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई हामीले हिजो साँझ मोरङबाटै पक्राउ गरिएको हो । नयाँ अनुसन्धान टेक्निकहरू लगाएर पक्राउ गरिएको प्रहरीको दाबी छ । यसअघि शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दै तीन जना अभियुक्तलाई सार्वजनिक गरेको थियो ।
सिरहा नगरपालिका–२१ स्थायी घर भई हाल काठमान्डौं बल्खु बस्दै आएका अनिलकुमार मण्डल, उनका दुई सहयोगी मोरङ जहदा गाउँपालिका–४ स्विनीका २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान ७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलमलाई यसअघि नै मोरङ प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीले थप दुई जनालाई शुक्रबार साँझ पक्राउ गरेर शनिबार सार्वजनिक गरेको हो । पछि पक्राउ परेकाहरू गरीब मजदुर भएको प्रहरीले जनाएको छ । दैनिक ज्यालादारीमा निर्भर रहँदै आएका उनीहरू ४० हजारको लोभमा हत्यामा संलग्न भएको खुलेको छ । क्विक अप्रेसन फलो गरेर उनीहरूलाई पक्राउ गरेको प्रहरीले बताएको छ । ज्याला मजदुरी गर्दै आएकालाई ४० हजारको लोभ देखाइएर हत्याको लागि उक्साएको भेटिएको छ ।
प्रहरीका अनुसार अनिलकुमार मण्डलले अमित भनिने दिनानाथ साहलाई लेभर खोज्ने जिम्मा दिएकाले उनैले प्रतिव्यक्ति ४० हजार दिने लोभमा ती दुई जनालाई काम लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा हत्या गरेर खाल्डो खनी गाडिएको अवस्थामा गत माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका–४ का शम्भुकुमार चौधरी र माघ १३ गते धरान ३ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो ।
यस्तै, माघ २० गते ललितपुरको गोदावारी नगरपालिका–१२ ठेचो चरंगखेलस्थित गोदाम घर रहेको कम्पाउन्ड क्षेत्रमा तेह्रथुमको संक्रान्ति २ घर भई हाल काठमाडौं ८ गोठाटार बस्दै आएका मोहन लिम्बुको पनि शव फेला पारेको थियो । तीनवटै हत्या एकै किसिमको भएपछि घटना रहस्यमय बनेको थियो ।
प्रहरीका अनुसार अरूहरूको पनि संलग्नता हुनसक्ने भएकाले प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको छ ।