जेठमा स्थानीय चुनाव नहुने प्रचण्डको संकेत - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

जेठमा स्थानीय चुनाव नहुने प्रचण्डको संकेत



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले स्थानीय चुनाव समयमै नहुने आशंका गरेका छन् । उनले आफूहरू चुनावसँग नडराएको भन्दै समयमा हुने नहुनेमा भने आशंका गरेका छन् ।

उनले अहिलेको सत्ता गठबन्धन चुनावसम्मै कायम हुने दोहोर्‍याएका छन् । तर, उनले चुनाव जेठ ४ मै हुने कुरामा भने आशंका जनाएका छन् ।

विहीबार माओवादी केन्द्रको कर्णाली प्रदेश समितिको भर्चुअल बैठकलाई काठमाडौंबाट सम्बोधन गर्दै उनले अमेरिकी सहायता परियोजना (एमसीसी) संशोधनबिना पारित नहुने बताएका छन् ।

प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुटोस् भनेर आफूहरू आगिपरेओ समेत बताए । उनले एमसीसी जस्ताको त्यस्तै पास गरेर जान सकिने अवस्था नभएको समेत बताएका छन् ।

आफूहरू चुनावसँग नडराएको भन्दै प्रचण्डले चुनावको तयारी गर्न निर्देशन समेत दिएका थिए। ‘हामी चुनावमा जाने हो’, प्रचण्डको भनाइ थियो, ‘चुनावी तयारी गर्नुहोस, कार्यक्रम बनाउनुहोस र संगठन विस्तार गर्नुहोस् ।’

प्रचण्डले जेठमा चुनाव गर्नुपर्ने सुझाव गठबन्धनले दिएको र त्यही अनुसार निर्णय हुने बताएका थिए । ‘जेठमा गर्ने गरी छलफल चलिरहेको छ, तयारी त गर्नुपर्यो तर अदालतले रोक्नसक्छ,’ प्रचण्डले भने ।

प्रचण्डले जेठमै चुनाव गर्दा असोजमा निर्वाचित भएका जनप्रतिनिधिले मुद्दा हाल्न सक्ने र त्यसले केही प्रभावित हुने सक्ने आशंकासमेत गरेका थिए । पछि निर्वाचित भएकाहरुले मुद्दा हालेर जेठमै चुनाव हुने कुरा प्रभावित हुन पनि सक्ने भन्दै उनले आफ्नो तयारी गर्नुपर्ने बताए।