एमसीसीबारे तत्काल निर्णय हुँदैन, गठबन्धन टुट्दैन : प्रचण्ड - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

एमसीसीबारे तत्काल निर्णय हुँदैन, गठबन्धन टुट्दैन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीबारे तत्काल निर्णय लिन कठिन भएको बताएका छन्।

पार्टीको कर्णाली प्रदेश बैठकलाई भर्चुअल सम्बोधनमा उनले भने, “एमसीसीका विभिन्न बुँदाहरूमा धेरै जनाको असहमति छ। ती बुँदाहरुलाई संशोधन गरेर हुन्छ या कसरी हुन्छ, छलफल र विमर्श गरेरमात्र यसबारे निर्णय गर्न सकिन्छ।”

उनले एमसीसीमा संशोधन गर्ने बुँदाबारे सत्तारुढ गठबन्धन दलका नेताहरूबीच छलफल भइरहेको र कुन बुँदा संशोधन गर्ने भन्ने विषयबारे पनि छलफल भएको बताएका छन्। प्रतिगमनको खतरा व्यापक भए पनि सत्ता गठबन्धन कुनै पनि हालतमा नटुट्ने उनले बताए। साथै स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न पनि उनले पार्टीपंक्तिलाई निर्देशन दिए।

अध्यक्ष ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धन आगामी संसदीय निर्वाचनसम्मै कायम रहने दाबी गरेका छन् । प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने दाबी समेत गरेका हुन् ।

“अहिले गठबन्धन टुट्दैन । संसदीय निर्वाचन गठबन्धन गरेरै जाने हाम्रो कुरा छ । एमसीसीबारे पार्टीहरूका आ–आफ्नै कुरा छन् । कतिपय पारित गरिहाल्नुपर्छ भन्नेमा हुनुहुन्छ,“ बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै एक प्रदेश कमिटी सदस्यले भने “परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ । जे गरे पनि सल्लाहले नै गर्छौं ।”

पछिल्लो समय एमसीसीका कारण गठबन्धन टुट्नसक्ने आशंका गठबन्धनका नेताहरूले नै गर्दै आएका छन् ।