सभामुखलाई महाअभियोग लगाउन टोपबहादुरले ल्याए प्रस्ताव
काठमाडौं– नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन्।
उनले सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यसबारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने बताए।
सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने उल्लेख गरे।
उनले सत्ता महागठबन्धन ‘लोभी पापीहरु’को झुण्ड भएको र संसद्को काम कारबाहीलाई चलाउन सभामुखलाई हटाउँदा राम्रो हुने धारणा राखे।
सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाए।
उनले नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै पार्टीले आगामी निर्वाचनमा एक्लै आफ्ना अजेण्डा लिएर जनतासामु जाने उल्लेख गरे।