स्थानीय निर्वाचनको मिति तत्काल नतोकिने
काठमाडौँ- स्थानीय तहको निर्वाचनको मिति तत्काल नातोकिने भएको छ । मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएपछि आजै भोलि तोकिने भनिएको निर्वाचन मिति कहिले तोकिन्छ भन्ने अन्योल बनेको हो ।
विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको भएपनि आजको बैठक भने अनिश्चित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका सचिवालय स्रोतका अनुसार मन्त्रिपरिषदको बैठक आज नबस्ने भएको छ ।
बिहिबार नियमित रुपमा मन्त्रिपरिषद बैठक बस्दै आएपछि आज मन्त्रिपरिषदको बैठक बस्न नसक्ने बताइएको छ । अब अर्को बैठक सोमबार बस्ने सम्भावना छ । यस्तै महिला बालबालिका मन्त्री उमा रेग्मीले पनि मन्त्रिपरिषद बैठक बस्ने टुंगो नभएको बताइन् । बिहिबार मन्त्रिपरिषद बैठक बसेर निर्वाचनको मिति घोषणा हुने अनुमान थियो ।
मंगलबार निर्वाचन आयोगका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति तोक्ने बताएका थिए । आयोगले ०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको थियो ।
आयोगले प्रस्ताव गरेको मितिमा आवश्यक प्रक्रिया पुर्याएर मिति घोषणा गर्न सकिने बताएका थिए । तर आजको मन्त्रिपरिषद बैठक अनिश्चित भएपछि निर्वाचनको मिति तोक्न पनि बिलम्ब हुने भएको छ । सरकारले निर्वाचनको मिति घोषणा नगरिदिँदा आयोगले निर्वाचन कार्यतालिका ल्याउन सकेको छैन ।
आयोगका अनुसार निर्वाचनको मिति घोषणापछि अर्थ मन्त्रालयमार्फत बजेट पास गर्नुपर्छ । सरकारले मिति घोषणा गर्न बिलम्ब गर्दा आयोगलाई समयको चाप बढ्ने देखिको छ ।