सभामुख चित्त नबुझे हटाउने कानूनी व्यवस्था छ : मिनेन्द्र रिजाल - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

सभामुख चित्त नबुझे हटाउने कानूनी व्यवस्था छ : मिनेन्द्र रिजाल



काठमाडाैँ – नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले एमालेले निरन्तर संसद अवरोध गरिरहनु ठिक नभएको बताएका छन् ।

बुधबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उनले सभामुखको भूमिका चित्त नबुझेमा हटाउने कानूनी व्यवस्था संविधानले दिएको भए पनि एमालेले त्यसो गर्न नसकेको बताए ।

संसदको गतिरोध अन्त्य गरेर निकास दिनुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘तपाईहरुले संसद बन्द गरेर संविधानलाई तागत दिइरहनुभएको छैन । तपाईहरुलाई सभामुखको भुमिका चित्त बुझेन भने सभामुख बेठिक छन्, यिनलाई हटाइ पाऊँ भनि लेख्ने त व्यवस्था छ नि त संविधानले दिएको । त्यो व्यवस्थामा जानुभए हुन्थ्यो नि त । जानुभएन अहिलेसम्म । त्यो व्यवस्थामा तपाईहरुसँग मत नपुग्ला तर लोकतन्त्र भनेको जित, हार दुईवटै हुन्छ नि त । जित्दा मात्र मान्छु हार्दा मान्दिनँ भन्न पाइदैनँ नि त । निकास खोज्नुपर्ला नि त ।’

नेता रिजालले वर्तमान सत्ता गठबन्धनसँग जिवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र नगरेको बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान ट्रयाक बाहिर गएको भन्दै संविधानलाई ट्रयाकमा ल्याउनका लागि मात्रै गठबन्धन गरिएको बताए ।