'एक्सन'मा श्रममन्त्री: म्यानपावरमा छापा, संचालक पक्राउ - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

‘एक्सन’मा श्रममन्त्री: म्यानपावरमा छापा, संचालक पक्राउ



काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ठगी गर्ने म्यानपावर कम्पनीविरुद्ध खरो उत्रिन थालेका छन् । ठगी गर्ने म्यानपावरको कारबाही पनि सुरू भएको छ । मन्त्रालयमा आइतबारदेखि सञ्चालन भएको ‘कल सेन्टर’ मा एक म्यानपावर कम्पनीले ठगी गरिरहेको सूचना आएपछि ‘मार्सल टोली’ ले आज छापा मारेको छ।

काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिइ ठगी गरिरहेको सूचना आएपछि मन्त्रालयले गठन गरेको मार्सल टोलीले सञ्चालक हेमराज राईसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहेका अलि मुस्तफासँग १ लाख २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा म्यानपावर सञ्चालक राई, म्यानपावरका कर्मचारी साहरा थापा तथा एजेन्ट महोम्मद इसाक मियाँलाई रकमसहित नियन्त्रणमा लिइ केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको ‘मार्सल टोली’ का संयोजक विष्णु लामिछानेले बताए।

सरकारले तोकेभन्दा धेरै रकम लिने म्यानपावरका बारेमा सूचना पाए तत्काल स्टिङ अपरेसन गरिने लामिछानेले बताए।

आइतबार ‘कल सेन्टर’ सुरुवात गर्ने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग पहिलो फोनमा गुनासोकर्ताले म्यानपावरले सरकारले तोकेभन्दा बढी पैसा असुली गर्ने गरेको बताएका थिए।

मन्त्री श्रेष्ठले धेरै पैसा लिने म्यानपावरका बारेमा कल सेन्टरमा जानकारी गराउन आग्रह गरेका थिए। वैदेशिक रोजगारीको खोजीमा रहेका, जाने क्रममा रहेका र विदेशमा अलपत्र पार्ने म्यानपावर कम्पनीमा अनुगमन तीब्र पारिने मन्त्री श्रेष्ठले बताए।