नेपाली क्रिकेट टोली विश्वकपका लागि योग्य - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

नेपाली क्रिकेट टोली विश्वकपका लागि योग्य



काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप खेल्न योग्य रहेको मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बताएका अचन । उनले टी-२० विश्वकपका लागि नेपाल योग्य रहेको दाबी गरेका हुन् ।

यसअघि पुबुदु दासानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजित टी-२० विश्वकप खेलेको थियो । नेपाली क्रिकेट टोलीका प्रशिक्षक र कप्तानसँग खेल पत्रकारको भर्चुअल अन्तर्रक्रियामा सोमबार साँझ बोल्दै दासानायकेले विश्वकपमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता हामीसँग रहेकोमा आफू विश्वस्त भएको बताएका थिए ।

ओमानमा नेपालले फेब्रुअरीको तेस्रो साता टीट्वेन्टी विश्वकपको विश्वस्तरको छनोट खेल्दै छ । नेपाल रहेको समूह एमा क्यानडा, ओमान र फिलिपिन्स छन्। यस्तै समूह ‘बी’मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन् ।

समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने टोलीले विश्वकपमा स्थान बनाउने छन् । नेपालले विश्वकपको छनोटअघि चार देश सम्मिलित अन्तर्राष्ट्रिय शृंखला खेल्ने छ । त्यस प्रतियोगितामा आयरल्यान्ड, यूएई र ओमान छन् ।

प्रशिक्षक दासानायकेले नेपालका लागि चार देश सम्मिलित शृंखला आफू कहाँ छु भनेर बुझ्न राम्रो अवसर हुने बताए । ‘पछिल्ला एक दुई महिना हामीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भए चार देश सम्मिलित प्रतियोगिता हाम्रा लागि अझ राम्रो हुने थियो’, उनले भने ।

कप्तान सन्दीप लामिछानेले विश्वकपमा छनोट हुनु सबैका लागि महत्वपूर्ण भएको र कप्तानका रुपमा आफ्ना लागि अवसर हुने बताए । उनले टिममा आन्तरिक समस्या रहेपनि यो अवस्थामा विश्वकपमा छनोट हुन सके नेपालले विश्वलाई ‘फरक क्यारेक्टर’ प्रस्तुत गर्न सक्षम हुने बताएका छन् ।

‘कप्तानको रुपमा मेरो पनि प्लान होला तर म सबैको प्लान सुनेर काम गर्छु’, उनले भने । उनले विश्व क्रिकेटमा भारत हार्दा मानिसहरु अचम्मित भएजस्तै नेपाल हार्दा पनि अचम्मित बन्ने स्थितीमा पुर्‍याउने योजना आफ्नो रहेको उनले सुनाए ।

‘हामीसँग जितको विकल्प छैन। हरेक खेलाडिले जित सोचेर खेल्नुपर्छ’, सन्दिपले भने ।