एमसीसीका कारण एक्लिए प्रचण्ड
काठमाडौँ- सत्ता गठबन्धनभित्र ‘एमसीसी कम्प्याक्ट’ संसदबाट पारित गर्ने सहमति भएपछि त्यसका साइड इफेक्टहरू देखिन थालेका छन् । लामो समयदेखि म्याद थप्दै थन्काउँदै गरेको ‘एमसीसी’ पारित गर्न अमेरिकाले प्रधानमन्त्री देउवालाई दवाव दिएको थियो । त्यसै अनुसार देउवाले गठबन्धनमा भएका दलहरूलाई यसमा आफूलाई सहयोग गरेको खण्डमा मात्रै गठबन्धन जारी राख्ने सर्त राखेपछि सहमति भएको बताइएको छ ।
गठबन्धन पनि तोडिने एमाले-कांग्रेस मिलेर अगाडी बढ्ने अवस्था सृजना हुने भएकाले चेपुवामा परेका माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीमा सहयोग गर्ने सहमति जनाएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताइसकेका छन् । उनले गठबन्धनभित्र एमसीसी पारित गर्ने सहमति बनिसकेको दाबी गरेपछि राजनीतिक माहोल तरंगित बनेको छ ।
एमसीसी पारित गर्ने सहमति गरेकै कारण नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै पार्टीभित्र अल्पमतमा परेका छन् । प्रधानमन्त्री देउवाले ‘एमसीसी’ संसदबाट पारित गराउनु पर्ने सर्त राखेपछि गठबन्धन जोगाउनकै लागि सहमति गरेका प्रचण्ड माओवादीभित्र एक्लिएका हुन् ।
गठबन्धनमा सहमति भएको जानकारी पाएपछि माओवादीका नेता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमै एमसीसीको विरोध गर्दै सहमति नगर्न सांकेतिक चेतावनी दिएका छन् । उनले गठबन्धनम कुनै सहमति नभएको र प्रधानमन्त्री देउवाले कुनै दवाव नदिएको भन्दै यसको बचाउ गरेका छन् ।
माओवादीभित्र नारायणकाजी मात्रै होइन धेरैजसो नेताहरू एमसीसीलाई कुनैपनि हालतमा स्वीकार नगर्ने पक्षमा छन् । सहमति भएको जानकारी पछि माओवादीमा केहि नेताहरूबीच छलफल समेत भैसकेको स्रोतको दाबी छ । माओवादी नेताहरू देब गुरुङ, वर्षमान पुन, नारायणकाजी, सभामुख समेत रहेका अग्नि सापकोटा लगायतका नेताहरूले प्रचण्डलाई यो सहमति नगर्न र यथास्थितिमा एमसीसी पारित गर्न नसकिने चेतावनी समेत दिइसकेका छन् ।
माओवादीकै भातृसंगठन वाइसियलले पनि एमसीसी कुनैपनि हालतमा पास गर्न नहुने भन्दै दवाव दिएको छ । वाइसियल इन्चार्ज समेत रहेका रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सामाजिक सञ्जालमै गठबन्धन टुटेपनि एमसीसी पारित गर्न नहुने बताएका छन् ।
माओवादीकै एक नेताका अनुसार प्रचण्डले यदि पार्टीको लाइनविपरित त्यस्तो सम्झौता गरेको खण्डमा उनी पार्टीमा एक्लिने पक्का बएको बताउँछन् । ‘प्रचण्डजीले त्यो सहमति गरेको हो भने वा गर्नुभयो भने यो पार्टीको लाईनविपरित हुन्छ, यसले माओवादीमै विद्रोहको अवस्था आउन सक्छ । पार्टीमा छलफल नै नगरी त्यसो गरेको खण्डमा प्रचण्डजी एक्लो बन्नुहुन्छ ।’ उनले भने ।